साउन २५ गतेदेखि धादिङबेँसीबाट हराइरहेका अंकित अझै भेटिएनन्

बुधबार, २८ साउन, २०८२
डिजिटल संस्करण

जिल्ला सदरमुकाम धादिङबेँसीबाट साउन २५ गते आइतबारदेखि हराइरहेका ज्वालामुखी गाउँपालिका–४ का १२ वर्षीय बालक अंकित श्रेष्ठ अझै बेपत्ता छन् । करिब दिउँसो २ बजे पौडी खेल्ने क्रममा अंकितलाई अरुङ खोलाले बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । ‘बेपत्ता भएको खबर पाउनेबित्तिकै खोजी कार्य सुरु गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीयको सहयोगमा खोजीकार्य भइरहेको छ।’ उनले भने, ‘बगाएको आशंका भएको अरुङ खोला आसपासदेखि थोपलको बुङचुङसम्म खोजी कार्य गरिसकेका छौँ । आज बुङचुङबाट त्रिशूली जोडिएको ठाउँसम्म खोजी कार्य गर्दैछौँ ।’ अंकितसँगै पौडी खेल्न गएका उनका सातजना साथीहरूसँग सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक हमालले बताए । हमालका अनुसार सँगै गएका साथीहरूसँग सोधपुछ गरिरहेका छौँ।

उनका साथीहरूले पौडी खेल्न गएको समयमा बिजुलीको झट्का लागेर खोलामा खसेर बगाएको बताएका छन् । ठुला मानिसहरूले भेट्ने गरी झोलिएको भए पनि साना ती बालकहरूले बिजुलीको तार भेट्ने अवस्थामा छैन । तर, उनका साथीहरूका भनाइअनुसार बिजुलीको झट्का लागेपछि खोलाले बगाएको हुन सक्ने आशंका रहेको उनले बताए । 

ज्वालामुखी स्थायी घर भएका अंकित नीलकण्ठ नगरपालिका– ३, पहरेचौतारामा बस्दै आएका थिए । आइतबार गाईजात्राको सार्वजनिक बिदा भएको र साथीहरूसँग अरुङ खोलामा नुहाउन गएको वेला त्यहीँबाट हराएको उनका आफन्तले जनाएको छ । साँझसम्म अंकित परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरेको थियो । धादिङबेँसी बजारको सिसिटिभी फुटेजमा अंकित बिचबजार चोकतिर साथीहरूसँग हिँडिरहेको देखिएको थियो । 

थोपालखोला हुँदै त्रिशूली किनारका सबै प्रहरी युनिटहरूमा पनि बालकको हुलियासहित खोजीकार्यका लागि सूचना जारी गरिएको र घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।
 

See More On

सुझावित समाचार