जुम्लामा धमाधम बन्द हुँदै उद्योग

लगानीको अभावले गत आवमा मात्रै एक हजार दुई सय ३५ उद्योग खारेजीमा

बुधबार, २९ साउन, २०८२
डिजिटल संस्करण

गुठीचौर गाउँपालिका– ५, धितालगाउँकी मनसरा बुढा धितालले लामाचौर पशुपक्षीपालन उद्योग दर्ता गरी सञ्चालन गर्दै आएकी थिइन् । ०७७ सालमा उद्योग दर्ता गरेकी उनको उद्योग अहिले बन्द गनुपर्ने अवस्थामा पुगेको छ । यसको प्रमुख कारण हो, लगानी अभाव । ‘उद्योग मात्रै भएर के गर्नु ? लगानी छैन । लगानीविना उद्योगबाट आम्दानी हुँदैन,’ उनको गुनासो छ । हरेक वर्ष राजस्व पनि तिर्न मुस्किल पर्ने भएकाले उद्योग खारेज (बन्द) गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

यस्तै, समस्या तिला गाउँपालिका– २ की तारा नेपालीले पनि यस्तै समस्या भोग्नुपरेको छ । ०७६ देखि सिलाइ–कटाइ टेलर्स सञ्चालन गर्दै आएकी उनले पनि उद्योग खारेज गर्नुपरेको बताउँछिन् । ‘६ वर्षअघि दर्ता गएको उद्योग लगानी नभएपछि बन्द गर्नुपर्यो । हरेक वर्ष राजस्व मात्रै तिर्नुपर्ने समस्याले उद्योग खारेज गर्नुपरेको हो,’ उनको भनाइ छ । आम्दानी नहुने उद्योगले थप समस्या थपेको नेपालीले सुनाइन् । मनसरा र ताराहरूले जस्तो यहाँ धेरैजसोले उद्योग खारेज गरेका छन् । निर्वाहमुखी, नाफामुखी, व्यवसायमैत्री र उत्पादनमुखीभन्दा अनुदानमुखी उद्योग बढी भएकाले पनि उद्योग खारेजीमा परेका हुन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आवमा मात्रै जुम्लामा एक हजार पाँच सय ३५ वटा उद्योग बन्द भएका छन् । कुल सात हजार ६ सय ८२ वटा उद्योग दर्ता रहेका जुम्लामा ६ हजार एक सय ४७ उद्योग मात्रै सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

त्यसमा पनि उत्पादनमुखी चार हजार चार सय १७ उद्योगमध्ये भने तीन हजार ६९ उद्योग सञ्चालनमा रहेकामा एक हजार तीन सय ४८ उद्योग बन्द भएका छन् । वाणिज्य उद्योगतर्फ जम्मा दर्ता भएका तीन हजार दुई सय ६५ उद्योगमध्ये तीन हजार ७८ उद्योग सञ्चालनमा छन् भने बाँकी एक सय ८७ वटा उद्योग बन्द भएका छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले अनुदान पाउन छाडेसँगै धमाधम उद्योग बन्द हुन थालेको बताए । उनले भने, ‘विगतमा अनुदान नेता–कार्यकर्ताले भनेकै भरमा पाइने भएपछि उद्योग दर्ता गरेका हुन् । अहिले अनुदानमा कडाइ भएको छ । अनुदान पाउन छाडेपछि उद्योगमा ताल्चा लागेका छन् । पछिल्लो समय उद्योग खारेज नै गर्ने क्रम पनि बढेको छ । त्यसको यकिन तथ्यांक निकाल्दै छाैँ ।’

कुल दर्ता उद्योगमध्ये १५ सयभन्दा बढी उद्योग उत्पादन प्रशोधनको कुनै काम नगरी अनुदान पाउने आसमा अहिले बन्द अवस्थामा रहेका छन् । अनुदान पाउने आशा नै नरहेका उद्योगहरू उत्पादनविनै सरकारलाई राजस्व बुझाउनुपर्ने भएपछि धमाधम बन्द गर्न थालेको प्रमुख योगीले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जिल्लाको उद्यमशीलता विकास, उत्पादन वृद्धि र प्रशोधनलाई प्रभावकारी बनाउन वास्तविक उद्यमीलाई लगानी बढाउनुपर्ने बताए । उद्यमीका नाममा अनुदान पचाउनेलाई नियमन गर्न संयन्त्र नै खडा गर्नुपर्नेमा समेत उनले जोड दिए । 

उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले अनुदानमुखी उद्योगलाई नियमन गर्न अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, ‘राम्रो गर्ने उद्योगीलाई प्रोत्साहन गर्ने र अनुदान मात्र पचाउन उद्यमी बन्नेलाई कारबाही प्रक्रियामा ल्याउनु आवश्यक छ ।’ प्रदेश सरकारले नवीकरणमा राजस्व वृद्धि गर्नु, आर्थिक मन्दी हुनु र अनुदानमा आधारित उद्योग स्वत: बन्द हुने प्रवृत्तिले उद्योग खारेजी बढ्दै गएको पाइएको छ । 

See More On

सुझावित समाचार