सुनको मूल्यमा ऐतिहासिक रेकर्ड : प्रतितोला मूल्य दुई लाखनजिक

चीनले सुनको भण्डारण बढाएको र अमेरिकाले भारतमाथि ५० प्रतिशत कर लगाउँदा सुनको मूल्य उचालियो

शनिबार, २५ साउन, २०८२
डिजिटल संस्करण

यो साता नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । साताको पहिलो दिन आइतबार तोलामा एक लाख ९६ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार आइपुग्दा तोलामा एक लाख ९९ हजार चार सय कायम भएको छ । यो पहिलो दिनको तुलनामा तोलामा दुई हजार नौ सय रुपैयाँले बढी हो ।

चीनले सुन भण्डारण बढाएको साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा ५० प्रतिशत महसुल लगाउने भएपछि भारतीय रुपैयाँ अवमूल्यन रहँदा नेपाली रुपैयाँ पनि भारतीय रुपैयासँगै अवमूल्यन भएको छ । यसले नेपाली बजारमा सुनको मूल्य उच्च रहन पुगेको हो ।

रोयटर्सका अनुसार चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले जुलाई महिनामा सुनको सञ्चिति बढाएको छ । सन् २०२४ देखि सुन खरिदलाई तीव्रता दिइरहेको चिनियाँ केन्द्रीय बैंकले सुनको मागमा चाप बढाएपछि मूल्य पनि अकासिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीति, रुस–युक्रेन तनाव र विश्वका ठुला केन्द्रीय बैंंकहरूको सुन भण्डारणमा तीव्रताले मूल्यमा उचालेको हो ।

त्यस्तै, यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला दुई हजार दुई सय ५० रुपैयाँ रहेकोमा साताको अन्तिम दिन शुक्रबार आइपुग्दा प्रतितोला दुई हजार तीन सय २५ रुपैयाँ कायम भयो ।
 

See More On

सुझावित समाचार