कांग्रेस–एमालेबाहेकका १० दलले निर्वाचन आयोगले प्रस्ताव गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’को मस्यौदा अघि नबढाउन सचेत गराएका छन् । संविधान, विद्यमान कानुन, लोकतान्त्रिक मूल्य र विधिको शासन सञ्चालन गर्न आग्रह गर्दै दलहरूले अन्यथा राजनीतिक तथा कानुनी कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगलाई संयुक्त असहमतिपत्र बुझाउँदै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नागरिक उन्मुक्ति र आजपाले संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्मविपरीतको कार्यविधि अमान्य भएको बताएका हुन् । आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने प्रयास गरेको समेत उनीहरूको दाबी छ ।
एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निर्वाचन आयोग पुगेर कार्यविधि अस्वीकार्य हुने चारबुँदे कारणसहित संयुक्त सुझाव दर्ता गराएको जानकारी दिए ।