सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको तटीय क्षेत्रमा प्रजिअ टोलीको स्थलगत निरीक्षण

सोमबार, २० साउन, २०८२
डिजिटल संस्करण

सप्तकोशीमा पानीको बहाव बढेसँगै उदयपुरको तटीय क्षेत्रमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमप्रसाद लुइँटेलको टोलीले स्थलगत निरीक्षण गरेको छ। उदयपुरको तटीय क्षेत्रमा पर्ने बेलका नगरपालिका सप्तकोशी नदीको कटान र बाढीको उच्च जोखिम रहेको क्षेत्रमा स्थलगत निरीक्षण अनुगमन गरेको हो ।

पछिल्लो समय भारी वर्षासँगै नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दा जोखिम झनै बढेको छ । यस्तो अवस्थामा प्रजिअ प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा उच्चस्तरीय टोलीले आइतबार स्थलगत निरीक्षण गरेको छ । तटीय क्षेत्रमा पर्ने बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ पछिल्ला वर्षहरूमा कोशी नदीको धार परिवर्तन हुँदा कटान र डुबान पर्दै आएका छन् । 

प्रजिअ लुइँटेलले बहाव अझै बढेमा बस्तीमा पानी पस्ने खतरा रहेकाले सुरक्षाकर्मीहरूलाई सतर्क अवस्थामा राखिएको बताए । यद्यपि, जोखिम न्यूनीकरणका लागि गरिएको पूर्वाधार निर्माण अधुरै रहेको बताइन्छ । विगतमा नदी नियन्त्रणका लागि ठेक्का सम्झौता गरिए पनि त्यसको कार्यान्वयन प्रभावकारी नभएको स्थानीयको गुनासो छ ।

बेलका नगरपालिकाले सम्बन्धित निकायसँग नदी नियन्त्रणका अधुरा काम छिटो सम्पन्न गर्न पुनः आग्रह गरेको छ । तर, समयमै पूर्वाधार तयार नहुँदा बाढी नियन्त्रणको प्रयास कमजोर देखिएको बताइएको छ ।बेलका मात्र होइन, कोशीतटीय अधिकांश क्षेत्र हरेक वर्ष बाढी र कटानको चपेटामा पर्दै आएका छन् । निरीक्षण टोलीमा प्रजिअ लुइँटेलसँगै प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगी, नेपाली सेनाका प्रमुख सेनानी मनोज कार्की, उपप्रमुख जिरा राई, प्रशासकीय अधिकृत रविकिरण आचार्यलगायत अधिकारीको उपस्थिति थियो । उनीहरूले नदी किनारका संवेदनशील ठाउँ अवलोकन गर्दै स्थानीय बासिन्दासँग अवस्था बुझेका थिए ।

सुझावित समाचार