मुख्यमन्त्री लामा अविश्वास प्रस्ताव सामना गर्न रणनीतिक तयारीमा

कोशी नजिरदेखि संसद् विघटनसम्मको विकल्प प्रयोग गर्न खोजिँदै

सोमबार, १२ साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफूविरुद्ध परेको अविश्वास प्रस्ताव सामना गर्न रणनीतिक तयारी थालेका छन् ।

आज बस्ने नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रस्तावमाथि छलफल हुने भनिए पनि लामाले प्रक्रिया लम्ब्याउनेदेखि संसद् विघटनसम्मको रणनीति बनाएका छन् ।

मुख्यमन्त्री लामाविरुद्ध नेपाली कांग्रेसका २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि उनले पहिलो चरणमा २४ घण्टाको समय माग गर्ने रणनीति बनाएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले हाल दक्षिण कोरियामा रहेका कारण उनी नफर्केसम्म प्रस्तावमा छलफल नहोस् भन्ने लामाको माग रहनेछ ।

यदि समय माग सफल भयो भने मुख्यमन्त्री लामाले पार्टी नेताहरूसँग लबिङ गर्नेसमेत तयारी गरेका छन् । तर, माग असफल भएमा उनी कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नजिर देखाउँदै आफू दलको नेता नभए पनि मुख्यमन्त्री रहन सक्ने दाबी गर्दै अघि बढ्ने योजना बनाएका छन् । ‘अब प्रक्रियाबाट अघि बढ्दा मैले दल नेता नहुँदैमा मुख्यमन्त्री हुन नहुने अवस्था होइन,’ उनले भने, ‘विभिन्न उपायहरू छन् ।

मुख्यमन्त्री लामाले अन्तिम विकल्पका रूपमा प्रदेश सभा विघटनसमेतको तयारी गरेको बुझिएको छ । उनले एमालेसहित सत्ता साझेदार दलहरूसङ्ग यस बिषयमा छलफल समेत गरेको उनी निकट स्रोतले बतायो ।  तर एमालेले प्रदेशसभा बिघट्नको कुनै सुझाब नदिएको एमाले संसद सचिवालयले जनाएको छ । संसदीय दलको नेता कांग्रेसको आन्तरिक समस्या भएकोले एमालेको कुनै चासोको बिषय नभएको एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेलले बताए । म मुख्यमन्त्रीबाट तुरुन्तै हट्दिनँ । उनले आफूविरुद्धको अविश्वास प्रस्ताव पार्टीभित्रको असन्तोष र व्यक्तिविशेषप्रतिको असहमतिका कारण आएको आरोप लगाए ।

खासगरी कांग्रेसका सांसद शिवराज अधिकारीलाई मन्त्री नबनाएको विषयमा आन्तरिक असन्तोष चुलिँदै गएको र त्यसकै परिणामस्वरूप प्रस्ताव आएको लामाको दाबी छ । ‘शिवराजजी निरन्तर सभापतिसँग जानुभयो । पार्टी सभापतिलाई कुरा लाउने बढी भए । बजेटको विषयमा पनि अलि विवाद भयो । अर्थमन्त्रीको बर्खास्तीबारे सल्लाह गर्ने भनिएको थियो । तर, त्यसअघि नै अविश्वास प्रस्ताव आयो,’ उनले भने । अबको राजनीतिक समीकरण र कांग्रेस संसदीय दलको निर्णयले बागमतीको सत्ताको भविष्य निर्धारण गर्ने देखिएको छ ।

सुझावित समाचार