नेपाल र थाइल्यान्डबिच सांस्कृतिक समानताहरू छन् : परराष्ट्रमन्त्री

शुक्रबार, १० साउन, २०८२
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्यान्डबिचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गरेकी छिन् । शुक्रबार राजधानीमा आयोजित ‘थाई फ्लेभर्स इन द हिमालयज्’ ट्रेड फेयरको उद्‌घाटन गर्दै उनले नेपाल र थाइल्यान्डबिच ऐतिहासिक सम्बन्ध रहिआएको र दुई देशबिचमा सांस्कृतिकलगायतका धेरै क्षेत्रमा समानता रहेका बताइन्।

मन्त्री डा. राणाले दुई देशबिच पाहुनाहरूको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरूको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत प्राप्त गर्न सकिने समृद्धिलगायतका समानताहरूकाे रहेका चर्चा गरिन् । पर्यटन दुई देशबिचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुन सक्ने स्पष्ट गर्दै मन्त्री डा. राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई आग्रह गरिन् । 

नेपाल उद्यमशीलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकलालगायतका कैयौँ वस्तुको उत्पादन विश्वबजारको आकर्षण पनि बनेको भन्दै उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरूलाई आग्रह गरेकी हुन् । नेपाल र थाइल्यान्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेका प्रसंग उल्लेख गर्दै मन्त्री डा. राणाले प्रधानमन्त्री केपी ओलीले हालै थाइल्यान्डको भ्रमण गरेको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा  सहमति र समझदारीहरू भएका पनि स्मरण गरिन्। 

सो भ्रमणबाट दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनेको र आगामी दिनमा यसप्रकारका उच्चस्तरीय भ्रमणहरूलाई निरन्तरता दिनुपर्ने पनि उनले बताइन्। नेपालस्थित थाई दूतावास र भाटभटेनी सुपरमार्केटद्वारा सो फेयरको आयोजना गरिएको हो । 

सुझावित समाचार