विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ

शुक्रबार, ९ साउन, २०८२
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका– ९ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका– ४ घर भएका ३५ वर्षीय साजन गुरुङ, ललितपुर महालक्ष्मी नगरपालिका– ८ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका– १ घर भएका ३६ वर्षीय दीपक थापा, काठमाडौं कागेश्वरी मनोहरा नगपालिका– ५ बस्ने दाङ घोराही उपमहानगरपालिका– १५ घर भएका ४७ वर्षीय टेकबहादुर केसी, ललितपुर महानगरपालिका– २३ बस्ने स्याङ्जा वालिङ नगरपालिका– ७ घर भएका ५० वर्षीय भरतप्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमि नगरपालिका– ३ बस्ने पर्वत विहादी गाउँपालिका– ४ घर भएका ३८ वर्षीय प्रेमप्रसाद भुसाल छन्।

पक्राउमध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै एकजनाबाट १२ लाख ८० हजार रुपैयाँ, दीपकले जर्जिया पठाइदिन्छु भन्दै तीनजनाबाट ६ लाख रुपैयाँ, टेकबहादुरले ग्रिस पठाइदिन्छु भन्दै ६ जनाबाट २१ लाख रुपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट २० लाख रुपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेका प्रहरीले जनाएको छ।

रकम लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले साजन र टेकबहादुरलाई काठमाडौं– २६ बाट तथा दीपकलाई काठमाडौं– ३० बाट बुधबार तथा भरत र प्रेमलाई ललितपुर– १५ बाट बिहीबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

सुझावित समाचार