सन् १९७८ : विश्वको पहिलो टेस्टट्युब बेबी लुई ब्राउनको इंग्ल्यान्डको ओल्डह्याममा जन्म भयो । चिकित्सकद्वय प्याट्रिक स्टेपटो र रोबर्ट एड्वार्डको नेतृत्वको टोलीले प्रजनन चिकित्सा क्षेत्रको यो उपलब्धि सम्भव गरेका थिए ।
सन् १८६१ : संयुक्त राज्य अमेरिकाको संसद्ले सर्वसम्मत रूपमा ‘क्राइटेनडेन–जोनसन प्रस्ताव’ पारित गर्यो । प्रस्तावले कन्फडरेट स्टेट्स अफ अमेरिकासँग जारी गृहयुद्धमा संयुक्त राज्य अमेरिकाको लक्ष्य ‘देशको विखण्डन रोक्ने रहेको, दासप्रथा अन्त्य गर्ने नरहेको’ स्पष्ट पार्न खोजेको थियो ।
सन् १९४३ : मित्रशक्तिसँग एकपछि अर्को पराजयपछि इटलीको ‘फासिस्ट ग्रान्ड काउन्सिल’ले प्रधानमन्त्री बेनितो मुसोलिनीविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्यो । लगत्तै राजा भिक्टर इम्यानुयल तृतीयले मुसोलिनीलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्दै थुन्न आदेश दिए ।
सन् १९८४ : सोभियत संघकी अन्तरिक्षयात्री स्वेतलाना सभितस्काया आजका दिन ‘सल्युत ७’ अन्तरिक्ष केन्द्रबाट बाहिर निस्किएर अन्तरिक्षमा हिँडिन् । योसँगै उनी अन्तरिक्षमा हिँड्ने पहिलो महिला बनिन् ।
सन् १९९४ : जोर्डन र इजरायलले वासिंटनमा एक सहमतिमा हस्ताक्षर गर्दै ४६ वर्षदेखि दुई देशबिच कायम युद्धको अवस्था औपचारिक रूपमा अन्त्य भएको घोषणा गरे ।