साउनमा पानी नपर्दा धान रोपाइँ प्रभावित

बिहिबार, ९ साउन, २०८२
डिजिटल संस्करण

साउन महिना मध्यतिर पुग्दासमेत पर्याप्त वर्षा नहुँदा सल्यानका विभिन्न ठाउँमा धान खेती प्रभावित बनेको छ । पानी अभावका कारण किसानहरूले मुरी फलाउने समयमै रोपाइँ गर्न सकेका छैनन् भने रोपेको धान पनि सुक्न थालेको छ ।

 वर्षभरिका लागि खान पुग्ने धान उत्पादनमा असर पर्ने देखिएपछि किसानहरू चिन्तित बन्दै गएका छन् । खडेरीकै कारण कतिपय किसानहरू मोटर पम्प, इनार वा नजिकैको खोलाबाट पानी तानेर सिचाई गर्न बाध्य छन् तर सबैसँग यस्तो स्रोत नहुँदा धेरै किसानको खेत बाँझो बस्ने सम्भावना बढेको छ ।

लामो समयसम्मको खडेरीले धान खेती गर्न नसकेपछि सल्यानका किसानहरूले परम्परागत धार्मिक विधिमा आस्था राख्दै भूमि देवीको पूजा सुरु गरेका छन् ।  जलका देवता र भूमिको रक्षार्थ बनगाड कुपिण्डे नगरपालिका अम्रा, घाटगाउँ, बुरेली, बस्नेउरा, माल्पेका स्थानीयले लामो समय पछिको खडेरीले खेतीयोग्य जमिन बाझै हुन थालेपछि भुमी देवताको पूजा गरेका छन् ।

उनीहरुले कुमाख गाउँपालिका २ को भुवनेश्वरी मन्दीरको सिद्ध गुफामा पुगेर पुजा गर्दै पानी मागेका छन् । लामो समयसम्म पानी नपरेर अहिले सम्म रोपाइ गर्न नपाएको र खेतबारीमा लगाइएका अन्नबाली सुक्न थालेपछि भुमे पूजा गरेर पानी माग गरेको बनगाड कुपिण्डे नगरपालिका १ किसान लोग बहादुर बुढाले बताए । उनका अनुसार परापूर्वक कालदेखि नै भुवनेश्वरी मन्दिरको सिद्ध गुफामा पुगेर भुमे पूजा गर्दा पानी पर्ने गरेको किम्बदन्ती रहेको छ । विगतमा जस्तै यसवर्ष पनि लामो समय देखि खडेरी परेपछि यहाँ पूजाआजा गरेर पानी मागिएको उनले बताए। परापूर्व कालदेखि नै लामो समयसम्म पानी नपरी खडेरी हुँदा यहाँका भुमे देवतालाई पूजा गर्दा पानी परेको र पूजा गरेपछि पानी परेको किम्बदन्ती अहिलेसम्म पनि यथावत रहेको छ ।

पानी नपर्दा व्याडमै सुक्न थाल्यो धान
सल्यानको पश्चिम क्षेत्रमा वर्षा नँहुदा धानको व्याड खेतमै सुक्न थालेको छ । असार अन्तिम र साउनको पहिलो साता गत वर्षहरुमा धान रोपाइ सकिन्थ्यो। तर, यसपटक भने असार सकिएर पनि साउनको पहिलो हप्तासम्म पानी नपर्दा धान व्याड सुक्न थालेको किसान हुर्मत ऐरीले बताए। सिंचाइ कुलोमा पानी ल्याएर थोरै रोपेका खेतमा समेत सिंचाइ नपुग्दा धान सुक्न थालेको उनको भनाइ छ। खेतमा पानी पु¥याउन किसानहरुलाइ हानथाप छ। कति ठाउँमा त पानीकै लागि झैझगडा मनमुटाव सुरु भएको छ।

मोटरबाट पानी तानेर सिंचाई 
कुमाख गाउँपालिका आसपासमा पनि लामो समयसम्म पानी नपरेपछि लगाएको धान र अन्नबाली सुक्न थालेपछि मोटरको सहायताले पानी सिचाई गर्न बाध्य भएका छन् । खडेरीले खोलानै सक्न थालेपछि तथा सडक निर्माणका क्रममा सिचाई कुलोहरु पुरिँदा कुमाख गाउँपालिका १ र २ का किसानहरुले मोटरको सहायताले सिंचाई गर्दै आइरहेका छन्। एक रोपनी खेतमा सिंचाई गर्दा १२ देखि १४ सय रुपैयाँसम्म खर्च हुँदै आइरहेको कुमाख गाउँपालिका १ का मदन लामिछानेले बताए। 
 

सुझावित समाचार