जापानसँग ‘ठुलो’ व्यापार सम्झौता भएको ट्रम्पको घोषणा

अमेरिका भित्रिने जापानी सामानमा अब १५ प्रतिशत मात्र कर

बिहिबार, ९ साउन, २०८२
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ‘ठुलो’ व्यापार सम्झौता भएको घोषणा गरेका छन् । दुई देशका व्यापार प्रतिनिधिबिच महिनौँ लामो कठिन वार्तापछि मंगलबार घोषणा गरिएको सम्झौताअन्तर्गत अमेरिकाले जापानी निर्यातमा १५ प्रतिशत कर लगाउनेछ । त्यस्तै सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने पनि ट्रम्पले बताए । 

मंगलबार नै अमेरिकी कंग्रेसका सदस्यद्वारा आयोजित स्वागत समारोहमा बोल्ने क्रममा ट्रम्पले जापानसँग भएको व्यापार सम्झौताबारे थप बोले । उनका अनुसार सम्झौतामा दुई देशले अलास्का राज्यमा तरल प्राकृतिक ग्यासको दोहनका लागि संयुक्त संयन्त्र बनाउने विषय पनि उल्लेख छ । 

उता जापानी प्रधानमन्त्री सिगेरु इसिबा भने बुधबार पत्रकारहरूको कुराकानीमा सम्झौतालाई लिएर ट्रम्पजति उत्साहित देखिएनन् । उनले सम्झौताका सबै पक्ष अध्ययन नगरिसकेको बताउँदै यसका विवरणबारे ‘होसियारीपूर्वक जाँच’ गरिरहेको टिप्पणी गरे । तथापि, उनले सम्झौता राष्ट्रिय हितमा रहेकोमा भने विश्वास व्यक्त गरे । हालसम्म प्राप्त जानकारी जापानी सामान अमेरिका निर्यात हँुदा १५ प्रतिशतमा मात्र भन्सार लाग्ने पुष्टि गरे ।

अमेरिकी व्यापार प्रतिनिधिसँग भएको वार्तामा संलग्न रहेको जापानी प्रतिनिधि र्योसेई अकाजावाले अल्मुनियम र स्टिलको भन्सारको विषय भने सम्झौतामा नसमेटिएको जानकारी दिएका छन् । अमेरिकाले विश्वका सबै भागबाट आफ्नो देश भित्रिने अल्मुनियम र स्टिलमा ५० प्रतिशत कर लगाएको छ ।

सबै देशमा लागू भएको १० प्रतिशत आधारभूत भन्सार सामना गरिरहेको जापानले अगस्ट १ को समयसीमाभित्र सम्झौता नगरेको भए उसका निर्यातमा २५ प्रतिशत कर लाग्ने थियो । अब विश्वको चौथो ठुलो अर्थतन्त्र जापानको निर्यातमा अमेरिकासँग व्यापार नाफा भएका ठुला अर्थतन्त्रमध्ये सबैभन्दा कम भन्सार दर लागू हुने देखिएको छ ।

अमेरिकी तथ्यांक ब्युरोका अनुसार अमेरिकाले सन् २०२४ मा १४८.२ अर्ब डलरको जापानी सामान आयात गरेको थियो भने जापानले ७९.७ अर्ब डलरको अमेरिकी उत्पादन किनेको थियो ।

 जापानसँगको अमेरिकी व्यापार सम्झौता बेलायत, इन्डोनेसिया, भियतनाम र फिलिपिन्ससँगको प्रारम्भिक सम्झौता र चीनसँगको ९० दिनको व्यापार युद्धविरामपछि अहिलेसम्म सार्वजनिक भएका व्यापार सम्झौतामध्ये एक हो ।

See More On

सुझावित समाचार