महोत्तरीमा खाद्य स्वच्छता तालिम सञ्चालन

बिहिबार, ८ साउन, २०८२
डिजिटल संस्करण

महोत्तरीको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाका १४ महिला र तीन पुरुष गरी कुल १७ जना अति विपन्न समुदायका साना खाजा नास्ता पसल सञ्चालकहरूलाई खाद्य स्वच्छता तालिम प्रदान गरिएको छ । 

अति विपन्न समुदायका व्यवसायीहरूलाई आत्मनिर्भर बनाउन तथा आर्थिक रूपमा सबल बनाउन एकीकृत ग्रामीण विकास समाज महोत्तरीले तीनदिने तालिम दिएको हो। नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दीबासले सहजीकरण गरेको सो तालिममा नाथमकै प्रशिक्षक प्रज्वल मानन्धर र वर्षा गुरुङले प्रशिक्षण दिएका हुन् । 

तालिममा सहभागी साना व्यवसायीहरूलाई खाद्य सुरक्षा र खाद्य स्वच्छताको आधारभुत जानकारी, स्थानीयस्तरका विभिन्न परिकार तयार गर्ने विधि, सामग्रीको बजारीकरण, मूल्य निर्धारण, पसलको साजसज्जा, सरसफाइ र बजार वृद्धिलगायतका विषयमा जानकारी प्रदान गरिएको एकीकृत ग्रामीण विकास समाजका कोषाध्यक्ष उमेश न्यौपानेले बताए ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा कामविहीन अति विपन्न समुदायका अधिकांश महिला तथा पुरुष व्यवसायीहरूलाई आत्मनिर्भर बनाउन विगतमा व्यवसाय सञ्चालनका लागि ठेलागाडा तथा खाद्य सामग्रीलगायतका पसल सञ्चालनका लागि आवश्यक विभिन्न वस्तु तथा सामग्री प्रदान गरिसकेको छ । 

सुझावित समाचार