कोशी प्रदेशमा लागुऔषध ओसारपसारमा संलग्न एक हजार ९१५ जना पक्राउ परेका छन् । कोशी प्रदेशका विभिन्न जिल्लाहरू खासगरी झापा, मोरङ र सुनसरीबाट गत आर्थिक वर्षमा केमिकल ड्रग्स ब्राउनसुगर, चरेश र मेडिकल ड्रग्स ओसारपसारमा संलग्न ८८८ जना पुरुष र ९७ जना महिलासहित एक हजार ९१५ जना पक्राउ परेका हुन् ।
लागुऔषध ओसारपसार नियन्त्रणमा निर्मम भएर लागिपरेको कोशी प्रदेश प्रहरीले मानिससँगै गत आर्थिक वर्ष ०८१/८२ मा पाँच किलो ४८९ ग्राम, ब्राउनसुगर, तीन ग्राम ५८८ मिलिग्राम चरेस, १५ ग्राम ७७० मिलिग्राम अफिम र मेडिकल ड्रग्सतर्फ क्याप्सुल ६ लाख १५ हजार ७९ वटा, एम्पुल दुई हजार ६५४ वटा र अन्य विभिन्न मनोदीपक औषधि १०९ वटा बरामद गरेको छ ।
कोशीमा भयावह बनिसकेको लागुऔषध नियन्त्रण अब प्रहरीको मात्र नभएर सामाजिक समस्या बनिसकेकाले सहयोग गर्न नागरिक समाज, जनप्रतिनिधि र सर्वसाधारण सबैसँग आग्रह गरेका छन्।
गाँजा तस्करीमा संलग्न २६१ जना पक्राउ
यसैगरी प्रहरीले गत एक वर्षमा भारततर्फ तस्करी गर्न पहाडी क्षेत्रबाट ल्याएका गाँजा ओसारपसारमा संलग्न २६१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २३५ जना पुरुष र २६ जना महिला छन् ।
कोशी प्रहरीले आर्थिक वर्ष ०८१/८२ मा भारततर्फ तस्करी हुन लागेको २६ हजार ७५० किलोग्राम गाँजा बरामद गरेको छ । सँगै गत वर्ष गाँजाको ओसारपसारमा प्रयोग गरिएका ४५ वटा चारपांग्रे र ३२ वटा दुईपांग्रे सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएकाे छ । कोशीका पहाडी क्षेत्रमा अवैध रूपमा उत्पादन गरिएका गाँजा मोरङ र सुनसरीबाट अत्यधिक तस्करी हुने गरेको छ ।