धितोपत्र बोर्डले चालू आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचनालाई प्राथमिकतामा राखेको जनाएको छ ।
निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि नेप्सेको पुनर्संरचना गर्ने कार्यक्रम बोर्डको छ । धितोपत्र बजार (हालको नेप्से)को प्राथमिक सेयर निष्कासनको व्यवस्था गर्नेसहितका कार्यक्रम छन् । साथै, धितोपत्र बजार सञ्चालन नियमावलीमा संशोधन गरी स्टक एक्सचेन्ज सञ्चालकको चुक्ता पुँजीमा एकरूपता ल्याउने उल्लेख छ ।
नेप्सेका अतिरिक्त अन्य संस्थाको पनि सेयर सहभागितामा धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने सिडिएस एन्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गर्नेसमेत उल्लेख छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी कानुनी व्यवस्थालाई अन्तर्राष्ट्रिय सिद्धान्त तथा मापदण्डअनुरूप बनाई कानुनी व्यवस्थाको सबलीकरण गरिने उल्लेख छ । त्यस्तै, धितोपत्रसम्बन्धी ऐन, २०६३ र वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ अन्तर्गतका नियमावली, निर्देशिकामा समसामयिक परिमार्जन तथा सुधार कार्य अगाडि बढाउने भनिएको छ ।
धितोपत्र बजार, धितोपत्रको केन्द्रीय निक्षेप कम्पनी तथा वस्तु विनिमय बजारका विनियमावली स्वीकृत गर्न तथा संशोधनका लागि पेस भएमा अध्ययन गरी आवश्यक स्वीकृति प्रदान गर्ने उल्लेख छ ।