अब सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत मात्रै

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत ‘सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई विद्युतीय प्रणालीमा अनिवार्य गरेका हुन्

सोमबार, ३० असार, २०८२
डिजिटल संस्करण

सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गरिने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्न भन्दै अर्थ मन्त्रालयले सार्वजनिक निकायहरूलाई परिपत्र गरेको हो । अर्थ मन्त्रालयले १ साउनदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको हो । 

आर्थिक वर्ष ०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र जारी गरेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटमा ‘सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई विद्युतीय प्रणालीमा आबद्ध गरिने’ घोषणा गरेका छन् । सोही घोषणा कार्यान्वयनका लागि अर्थले सरकारी निकायलाई परिपत्र गरेको हो ।

‘नेपाल सरकारले आव ०८२/८३ को बजेट वक्तव्यमार्फत सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने नीतिगत व्यवस्था गरेको व्यहोरा विदितै छ,’ परिपत्रमा उल्लेख छ, ‘सोहीबमोजिम आगामी १ साउनदेखि हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था गर्नु–गराउनुहुन अनुरोध छ ।’ 

सुझावित समाचार