स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

आइतबार, २९ असार, २०८२
डिजिटल संस्करण

एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्न सहमत भएको कम्पनीनिकट लगानीकर्तालाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले शनिबार जनाएको छ ।

मोर्गन स्टेनलीले गत महिना घोषणा गरेको एक्सएआईको पाँच अर्ब डलरको ‘इक्विटी फन्ड’ जम्मा गर्ने एक हिस्साका रूपमा यो लगानी गरिएको रिपोर्टमा उल्लेख छ । यो स्पेसएक्सको एक्सएआईमा पहिलो ज्ञात लगानी हो र अर्को कम्पनीमा यसको सबैभन्दा ठुलो लगानी  हो।

मस्कले एआई सञ्चालनलाई प्रोत्साहन गर्न आफ्नो व्यापार साम्राज्यलाई बारम्बार परिचालन गरेका छन् । मस्ककाे लगानीको एक्सएआई (एक अग्रणी एआई अनुसन्धान र परिनियोजन कम्पनी च्याटजिपिटी प्लाटफर्म सिर्जना गर्नका लागि प्रसिद्ध) ओपन एआईसँग प्रतिस्पर्धा गरिरहेको छ ।  

यस वर्षको सुरुमा उनले एआई अनुसन्धान प्रयोगशाला एक्सएआईलाई सामाजिक सञ्जाल प्लाटफर्म एक्समा एकीकृत गरी ग्रोकको पहुँच बढाउने प्रयासलाई अघि बढाएका थिए । यो सहकार्यले नयाँ कम्पनीको मूल्य ११३ अर्ब डलर पुगेकोे रिपोर्टमा उल्लेख छ ।

मस्कले ग्रोकलाई ‘विश्वको सबैभन्दा स्मार्ट एआई’ को संज्ञा दिएका छन् । यसले स्पेसएक्सको उपग्रह इन्टरनेट सेवा, स्टारलिंकका लागि ग्राहक–समर्थन सुविधाहरूलाई सहयोग गर्छ । एआई च्याटबोट ग्रोक ४ को बुधबारको रिलिजको क्रममा, मस्कले टेस्लाको ‘अप्टिमस फ्लिट’जस्तै ‘ह्युमनोइड रोबोट’हरूमा ‘ग्रोक एम्बेड’ गर्ने आफ्नो संकेत प्रकट गरेका छन् । 

मस्कका प्रतिनिधिले भविष्यमा स्पेसएक्स र एक्सएआईबिच थप व्यावसायिक साझेदारी हुने बताएका छन् ।  रासस

सुझावित समाचार