कम्पनी रजिस्ट्रारमा प्रधानमन्त्री कार्यालयको अनुगमन, सेवा अवरोध गर्ने कर्मचारीलाई विभागीय कारबाहीको निर्देशन

शुक्रबार, २७ असार, २०८२
डिजिटल संस्करण

कम्पनी रजिस्ट्रार कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन गरेको छ । कार्यालयको सेवा प्रवाहमा अवरोध गरेर सेवाग्राहीलाई हैरानी गरिएको गुनासोपछि प्रधानमन्त्री कार्यालयले शुक्रबार अनुगमन गरेको हो । कार्यालयले सहसचिवको नेतृत्वमा प्राविधिक टोली खटाएको थियो । 

अनुगमनका क्रममा कार्यालयमा कार्यालय प्रमुखको अनुपस्थिति देखिएको, केही कर्मचारीहरू आफ्नो कार्यकक्षमा नभेटिएका, कम्पनी रजिस्ट्रारको सूचना प्रणाली मर्मत गर्ने सिलसिलामा सेवामा समान पहुँच नहुने गरी गत २३ र २४ गते सेवा अवरुद्ध भएको देखिएको छ । त्यस्तै, कार्यालयमा भौतिक रूपमा आउन नपर्ने सेवाग्राहीहरू पनि कार्यालय आइरहेको अवस्था देखिएको, सफ्टवेयर प्रणालीको स्वामित्व कार्यालयसँग नभएकोजस्ता समस्या अनुगमन टोलीले औँल्याएको छ । 

अनुगमनपछि प्रधानमन्त्री कार्यालयले २४ घण्टाभित्र कम्पनी प्रशासनसम्बन्धी सेवा सेवाग्राहीमैत्री बनाई पारदर्शी ढंगबाट समयमै निर्वाध रूपमा प्रदान गर्न निर्देशन दिएको छ । सेवा प्रवाहमा अवरोध गरेर सेवाग्राहीलाई हैरानीको अवस्था सिर्जना गर्ने कर्मचारीको पहिचान गरी त्यस्ता कर्मचारीलाई तीन दिनभित्र प्रचलित कानुनबमोजिम विभागीय कारबाही गर्न पनि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । त्यसको जानकारी कार्यालयको जनशक्ति व्यवस्थापन महाशाखामा उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

सुझावित समाचार