जुम्लामा पनि विद्युतीय सवारीसाधन (भ्यान) सञ्चालनमा आएका छन् । कुनै वेला विद्युतले हाहाकार खपेको जुम्लामा अहिले विद्युतीय सवारीसाधन सञ्चालन हुन थालेका छन् । विकासको मेरुदण्ड सडक र बिजुलीको पहुँच बढ्दै गएपछि विद्युतीय सवारीसाधन (भ्यान) सञ्चालनमा आउन थालेका हुन् । वातावरणको संरक्षणसँगै यात्रुलाई सस्तो तथा सुलभमा सेवा उपलब्ध गराउने उद्देश्यले विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएको हो । तिला कर्णाली यातायात प्रालि जुम्लाले असार २६ गतेदेखि सञ्चालनमा ल्याउने गरी १० वटा विद्युतीय भ्यान एकैसाथ जुम्लामा भित्र्याएको हो ।
तिला कर्णाली यातायात प्रालि जुम्लाका अध्यक्ष पदमबहादुर भण्डारीले जुम्लामा चार करोड ५९ लाख ५० हजार लगानीका १० वटा विद्युतीय सावरीसाधन (भ्यान) भित्र्याइएको बताएका छन् । ‘जुम्लामा बढ्दो वायू प्रदुषण र नागरिकले सहजै सेवा नपाएको समस्यालाई मध्यनजर गर्दै हामीले पहिलो चरणमा १० वटा इभी ल्याएका छौँ,’ उनले भने, ‘प्रतिभ्यान ४५ लाख ९५ हजार मूल्य परेका छन्। यो हिसाबले साढे चार करोडभन्दा बढीको लगानी छ । अब जुम्लाको छोटो दूरीमा नियमित सञ्चालन गरिनेछ । विगतको भन्दा भाडादर उल्लेखीय रूपमा घट्ने अपेक्षा छ।’
विगतमा चल्दै आएका इन्धनबाट चल्ने गाडी कम्पनीसँग साटफेर गरेर अपुग रकम थप गरेर विद्युुतीय भ्यान ल्याइएको छ । एकपटक पूर्ण रूपमा चार्ज गरेपछि दुई सयदेखि तीन सय किलोमिटरसम्म गुड्ने क्षमता रहेको छ ।जुम्लाको बसपार्क, नाग्म बजार र नाग्म–गमगडी सडकअन्तर्गत गोठीज्युला बजारमा चार्ज स्टेसन निर्माणको तयारी भइरहेको छ । विशेषगरी पछिल्लो समय जलवायु परिवर्तनका कारण वायु प्रदूषण बढ्दै गएपछि प्रदूषणको रोकथाम तथा वातावरणलाई स्वच्छ राख्न र नागरिकलाई आरामदायी सेवा दिन इभी ल्याइएको छ ।
पहिलो चरणमा १० वटा इभी ल्याए पनि छिट्टै थप १० वटा इभी जुम्ला भित्र्याउने तयारी तिला कर्णाली यातायात प्रालि जुम्लाले गरेको छ । जुम्लामा करिब एक मेघावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना सञ्चालनमा छ । ०७८ सालबाट ११ केभिएको राष्ट्रिय प्रसारणलाइन जुम्लामा पुगेको छ ।