नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को हरित ऊर्जा ऋणपत्र सूचीकृत भएको छ । निफ्राले प्रतिकित्ता एक हजार रुपैयाँका दरले निष्कासन गरेको ५० लाख कित्ता ऋणपत्र बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकरण सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुणामणि चापागाईं र निफ्राका सिइओ कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरे । सूचीकृत ऋणपत्र बिहीबारदेखि दोस्रो बजारमा कारोबार आउनेछ ।
निफ्राले सात वर्षे अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत ०८८/८९’ ऋणपत्र निष्कासन गरेको थियो । नेपालको पहिलो हरित ऋणपत्रले मुलुकमा हरित लगानी बजारको विकास गर्न महत्वपूर्ण कोषेढुङ्गा स्थापित हुने बताइएको छ ।
बैंकले यो ऋणपत्र निष्काशनबाट संकलित रकम वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्याउने नवीकरणीय उर्जा उत्पादन गर्ने परियोजनामा लगानी गर्नेछ । यसरी दिगो पूर्वाधार परियोजनामा वित्तीय लगानी सहजीकरण हुँदा नेपालको समग्र हरित पूर्वाधारको विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ ।