डेढ अर्बको हुन्डी र क्रिप्टो कारोबारमा संलग्न दुई भारतीय पक्राउ

बुधबार, २५ असार, २०८२
डिजिटल संस्करण

डेढ अर्ब रुपैयाँबराबरको हुन्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबारमा संलग्न रहेको अभियोगमा दुईजना भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेशकुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारन बिजबानी घर भएका २२ वर्षीय विपिन कुमार छन् । 

सानेपा कालोपुलमा हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरेको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए । साथै, प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार)जस्तो देखिने वस्तु एउटा, आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारु र पाँचवटा मोबाइलसमेत बरामद गरेको छ । 

लामो समयदेखि नेपालमा बस्दै आएका उनीहरू विभिन्न किमिसका आर्थिक अपराधमा संलग्न रहेको प्रारम्भिक छानबिनमा खुलेको छ । खासगरी हुन्डीको कारोबारमा संलग्न उनीहरू पछिल्लो समय कारोबार मिलाउन क्रिप्टो कारोबारमा पनि संलग्न भएका हुन् । उनीहरूउपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर र वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सिआइबीका एसपी खड्काले बताए । 

डेढ करोड रुपैयाँसहित चिनियाँ समातिए
स्रोत नखुलेको करिब डेढ करोड नेपाली रुपैयाँसहित एक चिनियाँ पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका– ६ बौद्ध नयाँबस्तीबाट स्रोत नखुलेको नगद एक करोड ४४ लाख रुपैयाँसहित काठमाडौं स्वयम्भू बस्ने चिनियाँ नागरिक ४० वर्षीय वाङ जियानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई बौद्धस्थित एक घरबाट नगदसहित पक्राउ गरेको एसपी अपिलराज बोहराले बताए । हुन्डीलगायत आपराधिक गतिविधिबाट उनले सो रकम आर्जन गरेको प्रहरी आशंका छ । पर्यटक भिसामा नेपाल बस्दै आएका ती चिनियाँ नागरिकको अन्य अपराधबारे विस्तृत अनुसन्धान थालिएको एसपी बोहराले बताए । 

See More On

सुझावित समाचार