सरकार र आन्दोलनरत चिकित्सकबिच तीनबुँदे सहमति, आजदेखि अस्पताल खुल्ने

उपभोक्ता संरक्षण ऐनमा नीतिगत तथा कानुनी सुधारका लागि आवश्यक संशोधनलगायत विषयमा सात दिनभित्र प्रतिवेदन दिन कार्यदल गठन

बुधबार, २५ असार, २०८२
डिजिटल संस्करण

दुई दिनदेखि आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबिच तीनबुँदे सहमति भएको छ । सहमतिसँगै बुधबारदेखि ओपिडी सेवा सुचारु भएको छ । ओपिडी सेवा बन्द गरेर आन्दोलनमा केन्द्रित चिकित्सक र सरकारबिच मंगलबार राति उपभोक्ता संरक्षण ऐनमा नीतिगत तथा कानुनी सुधारका लागि आवश्यक संशोधनलगायतका विषयमा सात दिनभित्र प्रतिवेदन दिन कार्यदल गठन गर्ने सहमति भएको हो ।

जसअनुसार सात दिनभित्र उपभोक्ता संरक्षण ऐन संशोधनका लागि प्रतिवेदन तयार पार्ने र ११ दिनभित्र पेस गर्ने निर्णय भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बताए । ‘सहमतिअनुसार बुधबारदेखि अस्पतालका सबैखाले सेवा सुचारु गर्छौँ,’ उनले भने, ‘सरकारले मिति तोकेरै ऐन संशोधनको प्रक्रिया अघि बढाउने भएपछि सहमतिमा पुगेका हौँ ।’

चिकित्सक संघको नेतृत्वमा भइरहेको आन्दोलन र मागबारे छलफल गर्न मंगलबार स्वास्थ्य मन्त्रालयमा सरोकारवाला निकायका बैठक बसेको थियो । बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कानुनमन्त्री अजयकुमार चौरसिया सहभागी थिए । चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्की, स्वास्थ्यसचिव विकास देवकोटालगायत पनि बैठकमा सहभागी थिए । 

कार्यदल संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख तथा सदस्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहनेछन् । कार्यदलले तयार पारेको मस्यौदा तीनजना मन्त्रीहरू सम्मिलित वार्ता टोलीमा पेस गरिनेछ । र, ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ लगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ११ दिनभित्र नेपाल सरकार मन्त्रिपरिषद्बाट सम्बन्धित मन्त्रालयले सैद्धान्तिक सहमति लिने र फास्ट ट्र्याकबाट कानुन संशोधनका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

मंगलबार पनि मारमा बिरामी
उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकहरूले मंगलबार पनि अस्पताल ठप्प पारेका छन् । सोमबार अस्पतालको ओपिडी सेवा बन्द गरेका चिकित्सकहरू मंगलबार ओपिडी बन्दसँगै माइतीघरमा प्रदर्शनमा उत्रिए । सोमबार नख्खुस्थित मेडिसिटीलगायत विभिन्न  निजी अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । संघीय अस्पतालमा उपचारका लागि आएका बिरामीहरू ओपिडी सेवा ठप्प भएपछि बिचल्लीमा परे । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ट्रमा सेन्टरलगायत अस्पतालमा उपचारका लागि आएका बिरामी अलपत्र परे । कतिपय बिरामी अस्पतालबाहिरसमेत कुरिरहे । तर, टिकट काउन्टरसमेत बन्द भएपछि फर्किन बाध्य भएका थिए । मंगलबार पनि चिकित्सकहरू हाजिर गरेर फर्किएका थिए । चिकित्सकहरू आन्दोलनमा हिँडेपछि बिरामीहरू बिचल्लीमा परेका हुन् । उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका निजी र सरकारी स्वास्थ्य संस्थाको ओपिडी सेवा बन्दको आह्वान गरेको थियो । सरकारसँग वार्ता नहुँदा मंगलबार पनि चिकित्सकहरूले ओपिडी सेवा ठप्प पारेका थिए । चैतमा गठन भएको उपभोक्ता अदालतले २९ जेठ र ५ असारमा फैसला गर्दै ग्रान्डी सिटी क्लिनिक, ओम अस्पताल र हिमाल हस्पिटलमा कार्यरत चिकित्सकलाई जरिवाना तिराउने गरी फैसला गरेको थियो । त्यसपछि निजी र सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरू विरोधमा उत्रिएका थिए । 

दुई दिनदेखि उपचार सेवा ठप्प हुँदा वीरमा उपचार गराउन आएका करिब चार हजार बिरामी समस्यामा परे । यस्तै, त्रिवि शिक्षण अस्पतालमा दुई हजार बिरामी उपचार लिनबाट वञ्चित भए । पाटन अस्पतालमा दुई दिनमा तीन हजार बिरामीले उपचार सेवा लिन पाएनन् । यद्यपि, इमर्जेन्सी सेवा सञ्चालन भए पनि चिकित्सकहरू आन्दोलनमा हुँदा इमर्जेन्सीमा बिरामीको रेखदेखमा जनशक्ति अपुग भएको थियो ।

अदालतले चिकित्सक तथा अस्पतालमाथि नियोजित रूपमा फैसला गरेको आरोप चिकित्सकहरूले लगाउँदै आएका छन् । चिकित्सक संघको अगुवाइमा भएको आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित अन्य नौवटा संघसंस्थाले समेत समर्थन गरेका थिए । चिकित्सक संघका अध्यक्ष कार्कीले कानुन संशोधन नै आन्दोलनको बटमलाइन भएको र त्यसैमा सहमति जुटेको बताए । उपभोक्ता अदालतले भने अदालतको आदेशलाई चिकित्सकहरूले हलुका र प्रतिशोधका रूपमा लिन नहुने बताउँदै आएको छ । अदालतका स्रेस्तेदार शोभाकर खरेलले चिकित्सकहरूको आन्दोलनले बिरामी मारमा परेको बताउँदै अन्य कानुनी ढोकाहरू पनि चिकित्सकका लागि खुला रहेको बताए । उपभोक्ता अधिकारकर्मीले पनि अदालतको फैसला मान्दैनौँ भनेर भन्नु कानुनसंगत नभएको बताउँदै आएका छन् ।

उपभोक्ता अदालतले हिमाललाई एक करोड ४५ लाख र ओम अस्पताललाई ५६ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो । उपचारमा लापरबाहीका कारण २८ महिने बालिकाको मृत्यु भएको ठहर गर्दै ज्ञानेश्वरस्थित हिमाल अस्पताल र चिकित्सक डा. जगदेव यादवलाई एक करोड ४५ लाख ४४ हजार एक सय रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । 

सुझावित समाचार