जुम्लाको गुठीचौर गाउँपालिका– ५ ठुलोहाँका पाटनमा सोमबार साँझ चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन् भने सयौं भेडा मरेका छन्।
ठुलोहाँकामा गोठालो गएका सिंजा गाउँपालिका– ५ का ४५ वर्षीय धनबहादुर रावत गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ। रावतसहित ६ जनाका करिब नौ सय वटा भेडाको बथानमा चट्याङ पर्दा २–३ सय भेडा घटनास्थलमै मरेका अनुमान गरिएको छ।
यद्यपि, घटनास्थल विकट क्षेत्रमा पर्ने भएकाले यकिन विवरण आउन बाँकी छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविनबाबु रेग्मीका अनुसार उक्त स्थान प्रहरी चौकी झारज्वालाबाट करिब ७ घण्टा दक्षिण र जिल्ला सदरमुकामबाट झण्डै १० घण्टा दक्षिण–पूर्वतर्फ दुर्गम भेगमा पर्छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोली घटनास्थल पुगेर चट्याङले मरेका भेडाको गणना गरेको थियो।