‘भन्सार शुल्कमा जापानले ट्रम्पसँग सजिलै सम्झौता नगर्ने’

आइतबार, २२ असार, २०८२
डिजिटल संस्करण

जापानका प्रधानमन्त्री सिगेरू इसिबाले आइतबार टोकियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्कीलाई टार्न खोजिरहेको छ भन्दै वासिङ्टनसँग वार्तामा ‘सजिलै सम्झौता’ नगर्ने बताएका छन्।

‘हामी सजिलै सम्झौता गर्नेछैनौँ। त्यसैले समय लागिरहेको छ र यो कठिन छ,’ इसिबाले एक टेलिभिजन टक साेमा भने। व्यापार सम्झौताका लागि बुधबारको समयसीमाअघि जापानले ट्रम्प प्रशासनसँग वार्ता गर्न हतार गर्दा उनको यस्तो टिप्पणी आएको हो।

ट्रम्पले अप्रिलमा धेरैजसो व्यापारिक साझेदारहरूबाट आयातमा व्यापक १० प्रतिशत भन्सार शुल्क लगाए पनि उनले जापानलगायत दर्जनौँ अर्थतन्त्रहरूमा उच्च दरहरू घोषणा गरे र वार्ताका लागि ठाउँ दिन त्यसपछि रोके।

यो रोकावट जुलाई ९ मा समाप्त हुनेछ। यसको अर्थ यदि ती देशहरूले यसलाई टार्न वासिङ्टनसँग सम्झौता गर्न असफल भए उच्चदरहरू लागू हुनेछन्। ट्रम्पले जापानलाई ‘३० प्रतिशत, ३५ प्रतिशत वा हामीले निर्धारण गरेको संख्या तिर्न’ भन्दै पत्र लेख्दै द्विपक्षीय व्यापार सम्बन्धलाई ‘अनुचित’ भनेका छन्।

उनले विशेषगरी जापानलाई थप अमेरिकी अटोमोबाइल र चामल स्वीकार गर्न दबाब दिएका छन्। टोकियोका व्यापार दूत रियोसेइ अकाजावाले बिहीबार र शनिबार अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकसँग टेलिफोनमा कुरा गरेका थिए।

सन्डे टेलिभिजन कार्यक्रममा इशिबाले अमेरिकी अर्थतन्त्रमा सबैभन्दा ठुलो लगानीकर्ता राष्ट्रका रूपमा जापानलाई अन्य देशभन्दा फरक व्यवहार गर्नुपर्ने कुरा दोहोर्याए। ‘के यो अन्याय हो ? यो कसरी अनुचित छ ? हामीले अमेरिकी दाबीहरूमध्ये प्रत्येकको जाँच गर्न आवश्यक छ,’ उनले भने, ‘हामी सहयोगी हौँ, तर हामीले भन्नैपर्ने कुरा भन्नुपर्छ। हामी विश्वको सबैभन्दा ठुलो लगानीकर्ता राष्ट्र र सबैभन्दा ठुलो रोजगारी सिर्जनाकर्ता (अमेरिका)मध्ये हौँ। हामी फरक छौँ।’

सन्डे टेलिभिजनको अर्को कार्यक्रममा इसिबाले ट्रम्पको पत्रलाई कसरी सामना गर्ने योजना छ भनेर सोध्दा जापानले ‘सबै प्रकारका परिस्थितिहरूको सामना गर्न तयारी गरिरहेको’ प्रस्ट पारे।

सुझावित समाचार