माओवादी केन्द्रले श्रमदान गरेर बनायो तटबन्ध

शनिबार, २१ असार, २०८२
डिजिटल संस्करण

दाङ–सुर्खेत सडक खण्डअन्तर्गत दाङ तुलसीपुरको पातुखोला पुल जीर्ण हुन थालेपछि श्रमदान गरेर तटबन्ध निर्माण गरिएको छ। शनिबार माओवादी केन्द्र तुलसीपुरले श्रमदान गरेर तटबन्ध निर्माण गरेको हो । जहाँ तटबन्ध नहुँदा पुलमुनिको भाग गहिरिएर गएको छ ।

जसले गर्दा पुल जीर्ण अवस्थामा रहेपछि श्रमदान गरेर तटबन्धको काम गरिएको माओवादी केन्द्र तुलसीपुर नगर अध्यक्ष मोहन थापाले बताए । यो पुल पश्चिम दाङ जोड्ने महत्त्वपूर्ण पुल हो, तर बर्सेनि यहाँको भाग कटान हुँदै गएको छ, उनले भने यसरी कटान हुँदा पुल जीर्ण बन्दै गएको छ ।

जलस्रोत तथा सिँचाइ डिजिजन कार्यालय तुलसीपुरले ७ वटा जाली दिएपछि श्रमदान गरेर तटबन्ध निर्माण गरिएको हो। तटबन्ध निर्माणका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रमदान गरिएको हो। हरेक सामाजिक कार्यमा माओवादीले सहभागिता जनाउने भन्दै यस्ता कार्यलाई निरन्तरता दिने उनले बताए ।

पछिल्लो समय पातुखोला पुल जीर्ण बन्दै गएको छ । त्यो पुल संरक्षणका लागि पहल थाल्न स्थानीयले दबाब दिने गरेका छन् । पटक–पटक सम्बन्धित निकायलाई झकझक्याए पनि यो पुलका बारेमा चासो नदिएको तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालले बताए।

सुझावित समाचार