सैनिक कल्याणकारी कोषको भ्रष्टाचारमा जर्नेलसहित दुई बर्खास्त

बिहिबार, १९ असार, २०८२
डिजिटल संस्करण

नेपाली सेनाको कल्याणकारी कोषमा भएको भ्रष्टाचारमा दुई वरिष्ठ सैनिक अधिकारी बर्खास्त भएका छन्। फर्जी कर्मचारी खडा गरी उनीहरूको नाममा चेक काटेर कोषको सवा २ करोड रकम भ्रष्टाचार गरेकोमा सहायक रथी रोशन खड्का तथा सेनानी बोधराज कार्की बर्खास्त भएका छन् । सैनिक विशेष अदालतले बिहीबार उनीहरूलाई बर्खास्त गरी हिनामिनाबापतको रकम तिराउने फैसला गरेको हो । 

सैनिक ऐन, २०६३ को दफा १०१ अनुसार उनीहरूलाई बर्खास्त गर्ने फैसला भएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए। उनीहरूबाट २ करोड २१ लाख ८५ हिनामिना भएको थियो । 

यस हिनामिनामा संलग्न दुई पूर्वसैनिकलाई भने प्रहरीमार्फत यसअघि नै मुद्दा चलाइएको थियो । प्रहरीमार्फत मुद्दा दायर गरिएका पूर्वजमदार आत्मराम थापा हाल पुर्पक्षका लागि कारागारमा छन् । त्यस्तै, पूर्वसेनानी लक्ष्मण अधिकारी भने अमेरिका पुगेका छन् । चारजनाको मिलेमतोमा कोषको रकम दुरुपयोग भएको आन्तरिक छानबिनमा खुलेको हो ।

२०७३ देखि २०७५ सालसम्म उनीहरूले योजनाबद्ध रूपमा अवकाशमा गएको सैनिकको विवरण थपेर चेक काटी रकम हिनामिना गरेका हुन् । पछिल्लो समय बैंकिङ प्रणालीमार्फत यस्तो सुविधा दिने गरिएकाले हिनामिना हुने सम्भावना रहेको सैनिक अधिकारीले बताएका छन् । 
 

सुझावित समाचार