इरान–इजरायल युद्धको असर, भारी मात्रामा बढ्यो पेट्रोलियमको मूल्य

सोमबार, १६ असार, २०८२
डिजिटल संस्करण

इरान–इजरायल युद्धले अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यको असर नेपाली बजारमा पनि परेको छ । आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोलियमको मूल्य समायोजन गर्दा भारी मात्रामा वृद्धि गरेको छ ।

निगमका अनुसार पेट्रोलमा पाँच र डिजेल तथा मट्टीतेलमा समान चार रुपैयाँ प्रतिलिटरले वृद्धि भएको छ । त्यस्तै, आन्तरिक हवाई इन्धन ७ र त्रिभुवन विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय विमानका लागि प्रतिकिलोलिटर ५१ डलरले मूल्य बढाइएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५, डिजेल तथा मट्टीतेल एक सय ४९, आन्तरिक हवाई इन्धन एक सय २५ प्रतिलिटर तथा अन्तर्राष्ट्रिय हवाई इन्धन नौ सय एक डलर प्रतिकिलोलिटर पुगेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट प्रत्येक १५ दिनमा प्राप्त हुने नयाँ मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ । सोमबार साँझ आइओसीले पेट्रोलमा ७.६४ रुपैयाँ, डिजेलमा ९.१३ रुपैयाँ र हवाई इन्धनमा ६.८८ रुपैयाँ प्रतिलिटर बढाएर पठाएको निगमले जनाएको छ । ठूलो मात्रामा मूल्य बढेर आएपछि निगम सञ्चालक समितिको बैठक सोमबार साँझ नै बसेर मूल्यवृद्धिको निर्णय लिएको हो ।

निरन्तर नाफामा रहेको निगमले यसपटक स्वचालित मूल्य प्रणालीलाई स्थगित गरेर आइओसीबाट प्राप्त मूल्यभन्दा कम दरमा मूल्य समायोजन गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । ‘यसपटक उपभोक्ताहितलाई ध्यानमा राखेर आइओसीले पठाएको दरभन्दा कम हुने गरी नेपाली बजारमा मूल्य समायोजन गरिएको छ,’ ठाकुरले भने ।

युद्धका वेला कच्चा तेलको भाउ ७ प्रतिशतभन्दा बढी वृद्धि
इरान–युद्ध चर्केका वेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ७ प्रतिशतसम्म बढेको हो । ६ असारमा कच्चा तेलको भाउ ७७.७२ डलर प्रतिब्यारेल पुगेको थियो । आइओसीले प्रत्येक १५ दिनको औसत मूल्य गणना गरेर नेपाललाई बिक्री गर्ने पेट्रोलियमको मूल्य निर्धारण गर्दै आएको छ । जसकारण, अहिले इरान–इजरायल युद्ध रोकिएर मूल्य घटे पनि यसअघि १५ दिनको औसत मूल्य निर्धारण गर्दा तुलनात्मक रूपमा धेरै बढेर आएको हो ।

अबको १५ दिनमा फेरि यही दरमा मूल्य घट्न सक्ने
इजरायल–इरान युद्धबिराम भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुन: घटेको छ । सोमबार साँझ कच्चा तेलको भाउ ६४.९४ डलर प्रतिब्यारेलमा ओर्लिएको हो । यो मूल्य १० दिनअघिको तुलनामा १६ प्रतिशतभन्दा कम हो । त्यसैले आइओसीले आगामी १५ दिनपछि (३० साउनमा) पठाउने मूल्य घटेर आउने  अनुमान छ । निगमले अन्तर्राष्ट्रिय बजारअनुसार नेपाली बजारमा तीन वर्षदेखि मूल्य समायोजन गर्दै आएको छ ।

सुझावित समाचार