विद्यालय शिक्षा विधेयक शिक्षकहरूसँगको प्रतिबद्धताविपरीत सरकारको ढिलासुस्ती

सोमबार, १६ असार, २०८२
डिजिटल संस्करण

विद्यालय शिक्षा ऐन ल्याउने विषयमा शिक्षकहरूसँग गरिएको प्रतिबद्धता पूरा नगरेको भन्दै नेपाल शिक्षक महासंघले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । १५ असारसम्म संसद्मा विधेयक टेबुल गर्ने सहमति हुँदाहुँदै पनि आइतबारसम्म विधेयक संसद्मा प्रस्तुत हुन सकेन । विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलकै चरणमा छ । 

नेपाल शिक्षक महासंघका सह–अध्यक्ष नामुमाया पराजुलीले शिक्षकलाई सरकारले हेरेकोहे¥यै पारेको बताइन् । ‘हामीसँगको सहमतिमा शिक्षामन्त्री, गृहमन्त्री र सत्तारूढ दलका प्रमुख सचेतकहरूले नै १५ असारसम्म टुंग्याउने प्रतिबद्धता जनाउनुभएको थियो । त्यति ठुलो आन्दोलनपछि भएको सहमति र गरिएका प्रतिबद्धता सरकारले पूरा गरेन,’ उनले भनिन्, ‘आइतबार पारित नभए पनि टेबुलसम्म चाहिँ हुन्छ होला भन्ने लागेको थियो । हामी संसद् बैठक हेरेरै बस्याैँ । सारा शिक्षक पर्खाइमा बसे । तर, सरकारले झुक्यायो ।’ 

महासंघका अनुसार पछिल्लो एक सातादेखि शिक्षक नेताहरूले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरू र प्रमुख दलका सचेतकहरूसँग पटक–पटक भेटघाट गरी दबाब दिइरहेका थिए । शुक्रबार समितिलाई लिखित रूपमा ध्यानाकर्षणसमेत गराइएको थियो । ऐनको प्रारम्भिक मस्यौदामा केही सहमतिका बुँदा हटाउने तयारी भएको जानकारीपछि महासंघ अझै चिन्तित बनेको छ ।

त्यसैबिच समितिका सभापति अम्मरबहादुर थापाले विधेयक टेबुल हुन अझै केही दिन लाग्ने बताए । ‘काम अन्तिम चरणमा छ, सोमबार थप छलफल हुनेछ । त्यसपछि प्रतिवेदन तयार पार्न ३ दिन लाग्नेछ । पाँच दिनभित्र सदनमा टेबुल गर्ने तयारी छ । तर, पास गर्ने या नगर्ने जिम्मा भने प्रतिनिधिसभाको हुनेछ,’ उनले भने । गत वैशाखमा सरकार र शिक्षक महासंघबिच १५ असारमा विद्यालय शिक्षा ऐन ल्याउने सुनिश्चिततासँगै नौबुँदे सहमति भएको थियो । तर, सहमतिका कुनै पनि बुँदा अझै कार्यान्वयन हुन नसकेको र ऐन ल्याउनेबारे पनि आशंका देखिएको शिक्षक महासंघको भनाइ छ । सहमतिसँगै महासंघले काठमाडौंकेन्द्रित झन्डै एक महिना लामो आन्दोलन रोकेको थियो । 

सुझावित समाचार