बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डिएसपीनिवासमा पार्टी प्रकरण, डिएसपी र दुई इन्स्पेक्टर छानबिनमा

प्रदेश प्रहरीले गठन गर्‍यो एसपीको नेतृत्वमा तीनसदस्यीय टोली

बिहिबार, १२ असार, २०८२
डिजिटल संस्करण

बलात्कार मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएका व्यक्तिले जिल्ला प्रहरी प्रमुखको सरकारी निवास (क्वार्टर)मा आफ्नै अनुसन्धान अधिकृतको ‘बर्थ डे सेलेब्रेसन’ गरेको घटनामा डिएसपीसहित दुई इन्स्पेक्टर छानबिनमा तानिएका छन् । सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेत, तत्कालीन इन्स्पेक्टर मनीष श्रेष्ठ र अर्का इन्स्पेक्टर उदयकुमार राईमाथि छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले तीनसदस्यीय टोली बनाएको हो । 

राजविराज नगरपालिका– ६ का आकाश आदर्शले बलात्कार मुद्दामा जिल्ला अदालतबाट ४ जेठमा सफाइ पाएका थिए । त्यसको भोलिपल्टै आफ्नै मुद्दाका अनुसन्धान अधिकृत इन्स्पेक्टर श्रेष्ठको ‘बर्थ डे सेलेब्रेसन’का लागि उनी जिल्ला प्रहरी कार्यालय पुगेका थिए । प्रहरी कार्यालयपरिसरमै रहेको डिएसपी बस्नेतको क्वार्टरमा पार्टी चलेको थियो । उक्त पार्टीमा अर्का इन्स्पेक्टर राई पनि सहभागी थिए । यसबारे बुधबार नयाँ पत्रिकाले समाचार प्रकाशन गरेको थियो । राई अहिले पनि जिप्रका सप्तरीकै मुद्दा फाँट प्रमुख छन् भने श्रेष्ठ चितवनको रत्ननगरस्थित इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत छन् । 

बर्थ डे सेलेब्रेसनमा सहभागी डिएसपी र इन्स्पेक्टरद्वयमाथि छानबिन गर्न एसपी नारायण रन्जितकारको नेतृत्वमा तीनसदस्यीय टोलीलाई जिम्मा दिइएको मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । ‘यो टोलीले बिहीबार सप्तरी पुगेर विस्तृत छानबिन थाल्नेछ, त्यसपछि कमजोरी देखिए कारबाहीका लागि सिफारिस गर्नेछ,’ उनले भने । समितिले पार्टी आयोजनाको उद्देश्य, त्यसमा सहभागी व्यक्ति र प्रहरी आचरणविपरीत कुनै कार्य भए/नभएकोबारे विस्तृत अनुसन्धान गर्ने उनले बताए । 

आइजिपी थापाले संसदीय समितिमा भने– घटनालाई नोटिसमा लिएर प्रहरी प्रधान कार्यालयले छानबिन गर्दै छ
जिल्लाबाट सफाइ पाएका बलात्कारका अभियुक्तले प्रहरी अधिकृतहरूसँगै बर्थ डे पार्टी मनाएको समाचार आएपछि बुधबार राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आइजिपी दीपक थापासँग यसबारे जवाफ मागेका थिए । थापाले यसबारे आफूले पनि समाचार पढेर थाहा पाएको र लगत्तै प्रदेश प्रहरी प्रमुखलाई छानबिनका लागि निर्देशन दिएको बताए ।

प्रहरी प्रधान कार्यालयले पनि यस घटनालाई नोटिसमा लिएर छानबिन गरिरहेको उनको जवाफ थियो । ‘सभापतिज्यूले उठाउनुभएको विषय आज नयाँ पत्रिकामा मैले पनि पढेर थाहा पाएँ । फोटोसहित पनि आएको थियो । यो सप्तरी जिल्लाको डिएसपीको क्वार्टरमा हो । तर, अलिअगाडिकै रहेछ, पत्रिकामा अहिले आयो,’ आइजिपी थापाले समितिमा भने, ‘त्यसमा मैले मधेश प्रदेशका डिआइजी साबलाई त्यो के हो भनेर छानबिनका लागि भनेको छु । यसलाई नोटिसमा लिएर प्रहरी प्रधान कार्यालयले पनि छानबिन गर्नेछ ।’

सुझावित समाचार