पत्रकार पाठकलाई उपस्थित हुन प्रहरीको सूचना

बुधबार, ४ असार, २०८२
डिजिटल संस्करण

समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिएका पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ । उनीमाथि धरपकड नगर्न उच्च अदालत, पाटनले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

मंगलबार साइबर ब्युरोले अनुसन्धानमा सघाउनका लागि यथाशीघ्र उपस्थित हुन भनेर सूचना जारी गरेको हो । एसपी दीपकराज अवस्थीले जारी गरेको सूचनामा साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सघाउन भनिएको छ ।

पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवापुत्र जयवीरको लगानीको विषयमा प्रसारण गरेको समाचारको विषयलाई लिएर उनीविरुद्ध साइबर अपराधको कसुरमा प्रहरीमा जाहेरी दिइएको हो । समाचारकै आधारमा साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिएकोमा सञ्चारसम्बद्ध संघसंस्थाले विरोध गर्दै आएका छन् ।

अदालतले पनि धरपकड नगर्न सोमबार मात्र आदेश दिएको हो । यही वेला ब्युरोले सूचना जारी गरेको हो । साइबर अपराधको मुद्दामा यसरी कुनै आरोपीविरुद्ध उपस्थित हुन सूचना जारी भएको पहिलोपटक भएको प्रहरी अधिकारी बताउँछन् । साइबर ब्युरो स्रोतका अनुसार उच्च तहको दबाबकै आधारमा यसरी सूचना जारी भएको हो ।

फरक उद्देश्यका लागि बनेको विद्युतीय कारोबार ऐनको दफा पत्रकारविरुद्ध दुरुपयोग गर्न लागिएको भन्दै सञ्चारकर्मीहरूले पक्राउ पुर्जी खारेजीको माग गरेका छन् । पक्राउ पुर्जीविरुद्ध परेको निषेधाज्ञाको निवेदनमा अल्पकालीन आदेश जारी गरी उच्च अदालतले अन्तरिम आदेशका लागि ५ असारमा बोलाएको छ । 

सुझावित समाचार