चिकित्सकीय लापरबाहीले बिरामीको मृत्यु : पीडित परिवारलाई ५६ लाख क्षतिपूर्ति दिन उपभोक्ता अदालतको आदेश

शुक्रबार, ३१ जेठ, २०८२
डिजिटल संस्करण

उपभोक्ता अदालतले चाबहिलस्थित ओम अस्पतालको चिकित्सकीय लापरबाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै पीडित परिवारलाई ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । अस्पतालले समयमै उचित उपचार नगरेका कारण बिरामीको मृत्यु भएको उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यहरू गेहेन्द्रराज रेग्मी तथा आनन्दराज पोखरेलको संयुक्त इजलासको ठहर छ । 

काठमाडौं महानगरपालिका– ३ का ९८ वर्षीय हरिहरप्रसाद गौतम गत ५ माघमा बाथरुममा लडेर घाइते भएपछि ओम अस्पतालमा भर्ना भएका थिए । तर, समयमै उपचार नभएकाले बिरामीले ज्यान गुमाउनुपरेको भन्दै मृतकका छोरा वसन्त गौतमले ओम अस्पताल, डा. सायुज्यराज घिमिरे र डा. सरोजकुमार गोहिवारलाई विपक्षी बनाएर पाँच करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित १ चैतमा उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए । 

सोही मुद्दामा ओम अस्पतालले ५० लाख ७० हजार र प्रतिचिकित्सक तीन लाख पाँच हजार पाँच सय रुपैयाँका दरले पीडित परिवारलाई क्षतिपूर्ति दिने फैसला भएको अदालतका स्रेस्तेदार शोभाकर खरेलले बताए । ‘अदालतमा आएको फिरादपत्र र त्यसपछिको बहसका क्रममा ओम अस्पतालको चिकित्सकीय लापरबाहीले नै निवेदकको बुबाको मृत्यु हुन पुगेको ठहर भयो,’ उनले भने, ‘त्यसैले अस्पताल र उपचारमा संलग्न दुवै चिकित्सकबाट पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको हो ।’ 

अदालतमा परेको मुद्दा विवरणअनुसार बाथरुममा लडेर घाइते भएका हरिहरलाई उपचारका लागि ओम अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । लगत्तै एक्सरे गर्दा फ्याक्चर्स देखिए पनि चिकित्सकद्वय डा. घिमिरे र गोहिवारले नदुख्ने औषधी दिएर पठाएका थिए । 

तर, चार दिनसम्म दुखाइ कम नभएपछि १० माघमा ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्सका चिकित्सकले फ्याक्चर भएको स्थानमा धेरै नै असर परिसकेकाले उपचार गर्न ढिलाइ भएको जानकारी दिएका थिए । यद्यपि, घरमै उपचार गर्ने क्रममा उनको मृत्यु भयो । 

त्यसपछि ओम अस्पतालका चिकित्सकले लापरबाही गर्दा बुबाको मृत्यु भएको भन्दै छोरा वसन्तले १ चैतमा फिरादपत्र दर्ता गरेका थिए । ‘ओम अस्पतालको चिकित्सकीय लापरबाहीले हाम्रो पिताको ज्यान गएको छ,’ उनको उजुरीमा थियो । 

त्यस्तै, नानीकाजी खड्काले यामाहा मोटरसाइकल खरिद गर्दा ठगिएको भन्दै दिएको उजुरीमा पनि विक्रेतालाई तीन लाख ९३ हजार रुपैयाँ क्षतिपूर्ति दिन फैसला भएको स्रेस्तेदार खरेलले बताए । खड्काले खरिद गरेको मोटरसाइकल तोकिएभन्दा चार वर्ष पुरानो मोडलको भएको र वारेन्टी अवधिअनुसार ब्याट्रीले समेत काम नगरेको भनी फिर्ता गर्न खोज्दा विक्रेताले नमानेपछि खड्का अदालत गएका थिए । 

यसअघि गत २५ वैशाखमा अदालतले चाँदीको गहनमा ठगिएकी ललितपुरको गोदावरी नगरपालिका– १३ बस्ने सावित्री खत्री थापाको पक्षमा फैसला गरेको थियो । उनले विशालबजारस्थित स्वस्तिक सिल्भर प्यालेस प्रालिबाट २५ फागुनमा १.१ तोला चाँदीले भरिएको मूर्ति चार हजार ६ सय रुपैयाँमा खरिद गरेकी थिइन् । 

तर, प्रचलित बजार मूल्यभन्दा बढी तिर्नुपरेको आशंका लागेपछि उनी एक साताभित्रै १ चैतमा फिर्ता गर्न गइन् । त्यहाँ उनले ज्याला, जर्तीलगायत कट्टा गरी दुई हजार दुई सय २५ रुपैयाँ मात्रै फिर्ता पाएकी थिइन् । 

तर, यसमा उनले चिक्त बुझाइनन् । र, ३५ हजार सात सय क्षतिपूर्ति मागदाबी गर्दै अदालतमा उजुरी दिइन् । यही मुद्दामा अदालतले स्वस्तिक सिल्भरलाई २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको छ । अदालतले गरेको आदेश चित्त नबुझे ३० दिनभित्र उच्च अदालत, पाटनमा पुनरावेदनमा जान सकिने व्यवस्था छ ।

उपभोक्ता अदालतमा अझै पाँच मुद्दा 
१९ माघको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३० फागुनमा स्थापना गरिएको उपभोक्ता अदालतमा हालसम्म १० मुद्दा परेका छन् । स्रेस्तेदार शोभाकर खरेलका अनुसार तीमध्ये दुईमा मिलापत्र, तीनको फैसला र पाँच सुनवाइकै क्रममा छन् । ‘एउटा ल्यापटपसम्बन्धी मुद्दामा विक्रेताले नयाँ दिने र सुजुकी कार मर्मतमा लापरबाहीमा आयातकर्ताले चाँडै बनाएर दिने मिलापत्र भएपछि निवेदकले मुद्दा फिर्ता लिनुभयो,’ उनले भने, ‘अहिलेसम्म तीनवटा मुद्दाको फैसला भइसकेको छ । अन्य पाँच मुद्दा सुनुवाइकै प्रक्रियामा छन् ।’

सुझावित समाचार