फिफा महिला वरीयतामा नेपाल एक स्थान खस्कियो

शुक्रबार, ३१ जेठ, २०८२
डिजिटल संस्करण
  • २ जुनमा थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको नेपाली राष्ट्रिय महिला फुटबल टोली नयाँ फिफा वरीयतामा सय स्थानमा रहँदा दक्षिण एसियामा बंगलादेशले पाँच स्थान सुधार गरेको छ

फिफा महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयताअनुसार नेपाली महिला फुटबल टोली सय स्थानमा छ । यसअघिको वरीयतामा नेपाल ९९औँ स्थानमा थियो । नेपालले १२०१.८९ रेटिङ अंक पाएको छ । नेपालले एक स्थान ओरालो लाग्दा वरीयतामा झिनो ०.१२ अंक गुमाएको छ । एसियाली राष्ट्रमध्ये नेपाल २०औँ स्थानमा छ । यसैबिच पुरुष टोली १७५औँ स्थानमा छ ।

फिफाले पछिल्लो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको नतिजाका आधारमा वरीयता निर्धारण गरेको हो । नेपालले अन्तिमपटक अन्तर्राष्ट्रिय खेल थाइल्यान्डविरुद्ध खेलेको थियो । दुईपटक महिला विश्वकप खेलिसकेको थाइल्यान्डसँग नेपालले २–० ले नतिजा गुमाएको थियो । नेपालमाथिको जितसँगै थाइल्यान्डले एक स्थान सुधार गरेको छ । नेपाल र थाइल्यान्डबिच २ जुनमा मैत्रीपूर्ण खेल भएको थियो । नयाँ वरीयतामा थाइल्यान्ड ४६औँ स्थानमा छ ।

नेपालले गत फेब्रुअरीमा चारदेशीय फुटबल प्रतियोगिता खेलेको थियो । नेपालले लेबनान र कीर्गिस्तानलाई हराएको थियो । नेपालले म्यानमारसँग एक खेल बराबरी गर्‍यो । तर, उपाधि भिडन्तमा भने नेपाल म्यानमारसँग पराजित भयो । चारदेशीय फुटबल प्रतियोगितामा फाइनल स्थान सुरक्षित गरेको नेपाली महिला टोलीले त्यसवेला चार स्थान सुधार गरेको थियो । नेपाल एकैपटक १०३ बाट ९९औँ स्थानमा पुग्यो । 

यसै महिनामा थाइल्यान्डसँग हार व्यहोरेपछि नेपालको वरीयता एक स्थान खस्किएको हो । फिफा वरीयताको शीर्ष स्थानमा अमेरिका छ । स्पेन दोस्रो र जर्मनी तेस्रोमा यथावत् छ । ब्राजिल चौथोमा उक्लिँदा इंग्ल्यान्ड पाँचौँमा झरेको छ । एसियाली राष्ट्र जापानको दुई स्थान खस्किएर सातौँमा पुगेको छ ।

नेपालको उच्च स्थान ९१
सन् २००३ मा नेपाली महिला फुटबल टोली फिफा वरीयतामा समावेश हुँदा ९८औँ स्थान रहेको थियो । सोही वर्ष नेपाल १०३औँ स्थानमा झर्‍यो । नेपालले महिला फिफा वरीयतामा अहिलेसम्म उच्च स्थान प्राप्त गरेको ९१औँ स्थान हो । सन् २०१७ को १५ डिसेम्बरमा फिफाले तत्काल जारी गरेको वरीयतामा नेपालले ९१औँ स्थान रक्षा गरेको थियो । महिला टोली त्यो भन्दामाथि जान सकेको छैन । सन् २०१८ मा नेपाल ९४ स्थानमा रह्यो । फिफा वरीयतामा नेपालले अहिलेसम्म तल्लो स्थान पाएको नै सन् २०१५ को २५ सेप्टेम्बरमा हो । त्यसवेलाको वरीयतामा नेपाली महिला टोली ११९औँ स्थानमा सीमित भएको थियो । यसैगरी, सन् २०२० को १८ डिसेम्बरमा नेपाल ९२औँ स्थानमा थियो । गत वर्षको २४ जुनमा नेपाल ९८औँ स्थानमा थियो । 

बंगलादेशले मार्‍यो पाँच स्थान छलाङ
दक्षिण एसियाली राष्ट्रमा वरीयतामा ठुलो छलाङ मारेको राष्ट्र बंगलादेश हो । बंगलादेशले पाँच स्थान सुधार गरेको छ । नयाँ वरीयताअनुसार बंगलादेश १२८औँ स्थानमा छ । दक्षिण एसिया (साफ)मा शीर्ष वरीयतामा रहेको भारतले समेत स्थान गुमाएको छ । उज्वेकिस्तानसँगका दुईवटा मैत्रीपूर्ण खेलमा समान १–० ले पराजित भएको भारतले एक स्थान गुमाएको छ । नयाँ वरीयतामा भारत ७०औँ स्थानमा छ ।

बंगलादेशले वरीयता सुधार गर्दा जुनमै भएका मैत्रीपूर्ण खेलमा जोर्डन र इन्डोनेसियालाई बराबरीमा रोकेको थियो । आफूभन्दा माथिल्लो वरीयतामा रहेका राष्ट्रलाई बराबरीमा रोकेपछि बंगलादेशले राम्रो वरीयता अंक बटुलेको हो । दक्षिण एसियामा पाकिस्तान १५७औँ र माल्दिभ्स १६३औँ स्थानमा छन् । भुटान १७१औँ स्थान यथावत् छ । श्रीलंका एक स्थान तल झर्दा १५९औँ स्थानमा पुगेको छ ।

सुझावित समाचार