एसियन जुनियर बुद्धिचालमा पुरुषोत्तमलाई रजत

बिहिबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

नेपालका पुरुषोत्तम सिलवालले श्रीलंकामा भएको एसियन जुनियर बुद्धिचाल च्याम्पियनसिपमा रजत पदक जितेका छन् । श्रीलंका बुद्धिचाल महासंघको आयोजनामा ४ देखि १२ जुनसम्म भएको च्याम्पियनसिपमा सिलवालले अन्तिम चरणमा भारतका शीर्ष वरीयताका खेलाडी आइएम मायांक चक्रवर्तीलाई हराउँदै रजत हात पारेका हुन् । प्रतियोगितामा सिलवालले २,१३० रेटिङका साथ आठौँ वरीयता पाएका थिए । भारतका मायांकले २,३७९ रेटिङका साथ शीर्ष स्थानमा रही प्रतिस्पर्धा गरेका हुन् । 

प्रतिस्पर्धामा उज्वेकिस्तानका २,१२० रेटेड एफएम अबु खाकिमोभ अकबरलीले ६ अंक र प्रोग्रेसिभ २५.५ अंक जोडेर स्वर्ण जितेका छन् । पुरुषोत्तमले प्रतिस्पर्धामा बंगलादेशका २,१४२ रेटेड आइएम मनुन रेजानिरसँग एक खेल गुमाए । उनले अन्य ६ खेलमा उत्कृष्ट जित निकाली सातौँ चरणमा समान ६ अंक र २४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर रजत जितेका हुन् । 

सिलवालसँग पराजित मायांक चक्रवर्ती कांस्यमा सीमित भए । प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, बंगलादेश, भारत, काजकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमिनिस्तान र उज्वेकिस्तानका ५९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत सिंगापुरमा सम्पन्न फिडेको आधिकारिक प्रतियोगितामा रूपेश जैशवालले र्यापिडमा रजत र ब्लिट्जमा कांस्य पदक हात पारेका थिए ।

सुझावित समाचार