ग्रिनल्यान्डको हिउँ औसतभन्दा धेरै छिटो पग्लियो

बुधबार, २९ जेठ, २०८२
डिजिटल संस्करण

मे महिनामा आएको गर्मीको लहरका कारण ग्रिनल्यान्डको बरफको पत्र विगतको औसतभन्दा १७ गुणा छिटो पग्लिएको वर्ल्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए)ले एक रिपोर्टमा जनाएको छ।

यो तापक्रमले आइसल्यान्डलाई पनि प्रभावित पारेको थियो। आर्कटिक क्षेत्र भूमण्डलीय तापक्रमको अग्रपंक्तिमा छ। वैज्ञानिक जर्नल नेचरमा सन् २०२२ मा प्रकाशित अध्ययनअनुसार यो सन् १९७९ देखि पृथ्वीका अन्य भागहरूभन्दा चार गुणा छिटो तातिएको छ।

‘प्रारम्भिक विश्लेषणबाट ग्रिनल्यान्डको बरफको पत्र १७ गुणाले पग्लने दर, यसको मतलब समुद्री सतह वृद्धिमा ग्रिनल्यान्डको बरफको पत्रको योगदान यो तापक्रम नआएको भए जति हुने थियो, त्यसभन्दा बढी छ,’ प्रतिवेदनका एक लेखक इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी सहप्राध्यापक फ्रिडेरिके ओटोले पत्रकारहरूलाई भनिन्, ‘जलवायु परिवर्तन नभएको भए यो असम्भव हुने थियो।’

आइसल्यान्डमा मे १५ मा तापक्रम २६ डिग्री सेल्सियस पार गर्यो। यो उपआर्कटिक टापुका लागि त्यो समयमा अभूतपूर्व थियो। ‘सन् १९९१–२०२० को औसत मे महिनाको दैनिक अधिकतम तापक्रमभन्दा १३ डिग्री सेल्सियस बढी तातो आइसल्यान्डमा यो मे महिनामा देखिएको तापक्रमले रेकर्ड तोडेको छ,’ डब्लुडब्लुएले भन्यो।

देशको मौसम विज्ञान संस्थानका अनुसार मे महिनामा आइसल्यान्डका ९४ प्रतिशत मौसम केन्द्रहरूले रेकर्ड तापक्रम दर्ता गरेका छन्। पूर्वी ग्रिनल्यान्डमा गर्मीको समयमा सबैभन्दा तातो दिन पूर्व–औद्योगिक मौसमको तुलनामा करिब ३.९ डिग्री सेल्सियस बढी थियो।

‘लगभग २० डिग्री सेल्सियसको तापक्रम संसारभरका धेरैजसो मानिसको अनुभवबाट चरम घटना जस्तो नलाग्न सक्छ, तर यो संसारको यस भागको लागि साँच्चै ठुलो कुरा हो,’ ओटोले भनिन्, ‘यसले पूरै संसारलाई व्यापक रूपमा प्रभावित पार्छ।’

डब्लुडब्लुएका अनुसार यस मे महिनामा आइसल्यान्ड र ग्रिनल्यान्डमा देखिएको रेकर्ड उचाइ प्रत्येक एक सय वर्षमा दोहोरिन सक्छ। ग्रिनल्यान्डका आदिवासी समुदायहरूका लागि तातो तापक्रम र पग्लिने बरफले उनीहरूको जीविकोपार्जन र परम्परागत जीवनशैलीका लागि खतरा उत्पन्न गर्दै बरफमा सिकार गर्ने क्षमतालाई असर गर्छ।

यी परिवर्तनले दुई देशको पूर्वाधारलाई पनि प्रभावित गरेको छ। ‘ग्रिनल्यान्ड र आइसल्यान्डमा चिसो मौसमका लागि पूर्वाधार निर्माण गरिएको छ, जसको अर्थ गर्मीको लहरमा हिउँ पग्लिँदा बाढी आउन सक्छ तथा सडक र पूर्वाधारलाई क्षति पुर्याउन सक्छ,’ डब्लुडब्लुएले भन्यो।

सुझावित समाचार