युके पठाइदिन्छु भन्दै ३८ जनाबाट ११ करोड बढी ठगी

मंगलबार, २७ जेठ, २०८२
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६, सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका–१० का ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

उनीहरूले ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं–३२, नरेफाँटबाट आइतबार पक्राउ गरेको हो।

यसैगरी, क्यानडा पठाइदिन्छु भन्दै एकजनाबाट ५ लाख ६० हजार रुपैयाँ ठगी गर्ने अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र बासुकलालाई प्रहरीले भक्तपुर– २, ब्याँसीबाट सोमबार पक्राउ गरेको हो।

सुझावित समाचार