मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु

सोमबार, २७ जेठ, २०८२
डिजिटल संस्करण

विश्वविद्यालयका विद्यार्थीलाई उनीहरूको क्याम्पसमा फर्काउँदै गरेको बस सोमबार उत्तरी मलेसियामा एउटा मिनीभ्यानमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरी र उद्धार सेवाहरूले बताएका छन् । थाई सीमानजिकैको व्यस्त पूर्व–पश्चिम राजमार्गमा गेरिक सहरनजिकै १३ जनाको घटनास्थलमै र दुईजनाको अस्पतालमा मृत्यु भएको थियो ।

मलेसियाको खतरनाक सडकमा एक दशकभन्दा बढी समयमा भएको यो सबैभन्दा घातक दुर्घटना हो । ‘बसले नियन्त्रण गुमाएको र पछाडिबाट मिनीभ्यानलाई ठोकेकोजस्तो देखिन्थ्यो,’ पेराक राज्य प्रहरी प्रमुख हिसाम नोर्दिनले भने।

अग्नि र उद्धार विभागले खिचेका घटनास्थलका तस्बिरहरूले देखाएअनुसार हरियो बस दाहिने छेउमा पल्टिएको थियो र पछाडिको भागको आवरण भाँचिएको थियो भने रातो मिनीभ्यान खाडलमा खसेको थियो र यसका झ्यालहरू फुटेका थिए । ‘केही पीडित आफैँ बाहिर निस्किन सफल भए, केही पीडित बाहिर फ्याँकिए भने अन्यहरू अझै बसमा फसेका थिए,’ पेराक राज्य विपत् व्यवस्थापन प्राधिकरणले एक विज्ञप्तिमा भन्यो ।

उद्धारकर्ताहरूले बसबाट मानिसहरूलाई निकाल्न हाइड्रोलिक कटर प्रयोग गर्नुपरेको थियो । मृत्यु हुनेहरूमा सुल्तान इद्रिस शिक्षा विश्वविद्यालयका १४ विद्यार्थी थिए भने अन्तिम पीडित बस परिचारक थिए ।

अन्य ३३ जना घाइते भएका छन् । तीमध्ये सातजनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । अधिकांश पीडित २१ देखि २३ वर्षका थिए । उनीहरू उत्तरपूर्वी मलेसियाको जेर्तेह सहरबाट यात्रा गरिरहेका थिए । दुर्घटना स्थानीय समयअनुसार बिहान १ बजेपछि भएको थियो ।

सुझावित समाचार