वातावरण पत्रकारिता पुरस्कार पत्रकार विशाल बस्नेतलाई प्रदान गरिने

बिहिबार, २२ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस जुन ५’ को अवसरमा विगत चार दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार– २०२४’ पत्रकार विशाल बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ । सौर्य राष्ट्रिय दैनिकमा वातावरण विषयका खोजमूलक समाचार लेखन गरेबापत बस्नेतलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

समूहले प्रत्येक वर्षको जुन ५  (विश्व वातावरण दिवस)मा पत्रकारहरूको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूमध्येबाट छनाेट गरी विषयगत विविधता, तथ्य–तथ्यांक, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्यांकन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले देशैभरिका पत्रकारहरूलाई सन् २०२४ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो। समूहले प्रकाशित गरेको सूचनाअनुसार नेवापसमा ४९ जना पत्रकारले आवेदन दिएका थिए ।

समूहका पूर्वअध्यक्ष तीर्थ कोइरालाको संयोजकत्वमा समूहका पूर्वमहासचिव निमेष रेग्मी र विज्ञसदस्य डा. विनोद भट्ट सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा बस्नेतलाई पुरस्कार दिने निर्णय गरिएको हो । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार– २०२४’ पाउने उनी ३८औँ पत्रकार हुन्। यो पुरस्कार समूहको आगामी साधारणसभाका दिनमा हस्तान्तरण गरिनेछ। 

साथै, २०२४ का लागि प्रशंसनीय र उत्कृष्ट रिपोर्टिङ गरेका १० जना पत्रकारलाई ‘उत्कृष्ठ रिपोर्टिङ–२०२४’ प्रशंसा–पत्र प्रदान गर्ने घोषणा गरिएको छ । जसमा  वसन्त ढुंगाना, ओम शाही, बालिका मादेन, वीरेन्द्र रमण, केशरराज क्षेत्री,  युवराज कँडेल,  विकास आचार्य, अर्चना दर्जी  (परियार),  दुर्गा रानामगर र सागर परियार रहेका छन् ।

सुझावित समाचार