भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईको गिरोह खोतल्दै अख्तियार

बिहिबार, २३ जेठ, २०८२
डिजिटल संस्करण

भिजिट भिसामार्फत संस्थागत असुली गरेको अभियोग लागेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको गिरोहमाथि अख्तियारले अनुसन्धान अघि बढाएको छ । अख्तियारले आइतबारदेखि लगातार चार दिन भट्टराईको बयान लिइरहेको छ । उनको मोबाइल तथा ल्यापटपमा भेटिएका भिजिट भिसासम्बन्धी प्रमाणका आधारमा बयान लिएको हो ।

विमानस्थल अध्यागमनका निवर्तमान प्रमुख भट्टराईले संस्थागत र संगठित रूपमा भिजिट भिसाको गिरोह चलाएको पर्याप्त प्रमाणहरू मोबाइलमा भेटिएको अख्तियार स्रोतले बतायो । भिजिट भिसामा सर्वसाधारणलाई दुःख दिएर असुली बढाएको उजुरीका आधारमा ‘अन्डरकभर अपरेसन’ चलाएर ७ जेठमा अख्तियारले उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो । उनका मोबाइल तथा ल्यापटपको परीक्षण प्रतिवेदन आउन समय लागेकाले आइतबारदेखि मात्रै उनको बयान सुरु भएको थियो । 

अख्तियारले भट्टराईसँगै ग्रिनलाइन होलिडे ट्राभल्सका सञ्चालक बालकृष्ण खड्का र भट्टराईको पैसा व्यवस्थापन गर्ने कविता पौडेल र खगेन्द्र सुवेदीलाई पनि नियन्त्रणमा लिएको थियो । उनीहरूको पनि मोबाइल र बैंक खातामाथि अख्तियारले छानबिन गरिरहेको छ । हालसम्मको अनुसन्धानमा भट्टराईले भिजिट भिसाका एजेन्टहरूसँग आफैँ डिल गरेर लिस्ट मगाउने गरेको देखिएको छ । त्यसका लागि उनले एउटा बेग्लै गोप्य मोबाइल बोकेका थिए । सो मोबाइलमा एजेन्टहरूले प्रस्थान अनुमति दिनुपर्ने व्यक्तिहरूको सूची पठाएको भेटिएको छ । भट्टराईको मोबाइलमा भिजिट भिसासम्बन्धी विषयमा सन्देश आदान–प्रदान गर्ने र शंकास्पद आर्थिक कारोबार गर्नेमाथि आयोगले विस्तृत छानबिन गरिरहेको छ ।

गृह मन्त्रालयकै संरक्षणमा यसरी भट्टराईले भिजिट भिसाको सेटिङ चलाएको अख्तियारको सूचना छ । गृहमन्त्री रमेश लेखकको सचिवालय र मन्त्रालयका केही कर्मचारीसँग उनको अस्वाभाविक सम्पर्क भेटिएका छन् । ‘उनले जुन धन्दा अध्यागमनमा चलाएका थिए, त्यस्तो धन्दा माथिको संरक्षण र सहमतिविना सम्भव देखिने खालको छैन,’ अख्तियारका एक अधिकारीले भने ।

यो प्रकरणमा गृहमन्त्री लेखकमाथि समेत विस्तृत अनुसन्धानको माग भइरहेको छ । विपक्षी दलहरूले उनको राजीनामा मागेर सदन अवरुद्ध गर्दै आएका छन् । तर, लेखकले एक सहसचिवमाथि छानबिन हुँदैमा आफूले राजीनामा नदिने अडान राखेका छन् । प्रधानमन्त्री तथा कांग्रेस–एमालेले उनको अडानमा साथ दिएका छन् ।

विवादास्पद सहसचिवलाई अध्यागमनमा पठाउनु, अध्यागमनमा सेटिङ बढेको भनेर अख्तियारले समेत पत्राचार गर्दा पनि छानबिनमा चासो नदिनु, अध्यागमनमा तल्लो तहका कर्मचारी पठाउन पनि चलखेल हुनु र अख्तियारले निगरानी बढाएलगत्तै सहसचिव भट्टराईलाई सरुवा गर्नुले यस प्रकरणमा गृह मन्त्रालय नेतृत्वमाथि नै प्रश्न उठिरहेको छ ।
 

सुझावित समाचार