बेरोजगारी समस्या दिगो रूपमा समाधान गर्न सरकारले युवाशक्तिको सीप र दक्षता विकास गर्ने भएको छ । यसका लागि सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ, जसका लागि एक अर्ब ९९ रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै रोजगारीको खोजीमा रहेका सीपयुक्त युवाको विवरण अद्यावधिक गरी श्रमबजार जोड्न रोजगार पोर्टल सञ्चालन गरिने पनि जानकारी दिए ।
‘निजी क्षेत्रका छाता संगठनसँग सबै प्रदेशमा सहकार्य गरी रोजगार मेला सञ्चालन गरिनेछ,’ उनले भने । त्यसगरी अर्थमन्त्री पौडेलले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने प्रतिबद्धतासमेत जनाए । यसका लागि श्रम गन्तव्यको विविधीकरण गरिने उनको भनाइ छ ।