सय शय्याको धुलिखेल ट्रमा तथा इमर्जेन्सी सेन्टरकाे प्रधानमन्त्रीले गरे शिलान्यास

दुई वर्षमा हस्तान्तरण गरिने योजना

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सय शय्याको धुलिखेल ट्रमा तथा आकस्मिक सेन्टर भवनको शिलान्यास गरेका छन् । बुधबार धुलिखेल नगरपालिका–६ मा बन्न लागेको धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

धुलिखेल नगरपालिका–६ मा नेपाल सरकार र जापान सरकारको साझेदारीमा सय शय्याको धुलिखेल ट्रमा तथा इमर्जेन्सी सेन्टर निर्माण गर्न लागेका छन् । इन्टरनेसनल कोअपरेसन एजेन्सी नेपाल(जाइका)ले ट्रमा सेन्टर निर्माणका लागि ३ दशमलब ८७९ बिलियन जापानिज येन लगानी सम्झौता भइसकेको छ ।

जापान सरकारले ६० र नेपाल सरकारले ४० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । जाइका तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधिको उपस्थितिमा सेन्टर निर्माणको लागि अप्रिल ०२५ मा टोडा कर्पाेरेसन टोक्यो जापानिज निर्माण कम्पनी छनोट भएको छ । अस्पताललाई चाहिने अत्याधुनिक उपकरणहरू सिटिस्क्यान, एमआरआई मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेसिनसहित सन् ०२७ मा हस्तान्तरण गरिने योजना छ ।

भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको स्थायित्व र गुणस्तर वृद्धिको लागि ट्रमा सेन्टर आवश्यक रहेको बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले समुदायले सञ्चालन गरेको अस्पताललाई अनुदान प्रदान गर्ने गरी बजेट ल्याउन लागेको बताए । स्वास्थ्य क्षेत्रमा सामुदयिक क्षेत्रलाई सँगसँगै लाने र स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने उनको भनाइ छ । स्वास्थ्य क्षेत्रको स्रोत जुटाउनको लागि सामुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले बताए । 

राज्यले आवश्यकताअनुसार आफ्नो लगानी गर्ने सक्ने अवस्था नरहेकोले स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थित गर्ने पनि उनको जोड थियो।  

राजधानीको पूर्वी भागमा अवस्थित अरनिको र बिपी राजमार्गले ओगटेको भूभागका लागि स्वास्थ्य सेवा प्रदानको लागि अस्पतालले ट्रमा तथा इमर्जेन्सी सेन्टर निर्माण गर्न लागेको धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठको भनाइ छ ।

सेन्टर निर्माणपश्चात् काभ्रे, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, भक्तपुरसहित बिपी राजमार्गले जोड्ने तराईका जिल्लाहरूका सेवाग्राहीलाई सहज हुने अस्पतालले अपेक्षा लिएको छ । 
 
 

सुझावित समाचार