प्रधानमन्त्रीले मान्छे भिडाएर युद्ध गर्न खोजे, केही भए जिम्मा लिनुपर्छ : सांसद शाही

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले उत्तेजक भाषण गर्दै मान्छे भिडाएर युद्ध गर्न खोजेको टिप्पणी गरेका छन्।

आफूहरूले पहिले नै घोषणा गरेको शान्तिपूर्ण आन्दोलनलक्षित गरी एमालेले कार्यक्रम राखेको भन्दै सांसद शाहीले कुनै अप्रिय घटना भए प्रधानमन्त्री केपी ओली स्वयंले जिम्मा लिनुपर्ने बताएका हुन्।

‘यदि भोलिको कार्यक्रममा कहीँ हिंसा भयो भने त्यसको पूरा जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । उहाँले नेपालको संविधान र कानुनहरू उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोज्नुभएको छ,’ संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने। 

भोलि बिहीबार राजावादीहरूले शान्तिवाटिकामा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका छन्। एमालेले पनि भोलि नै भृकुटीमण्डपदेखि सहिद गेट, न्युरोड हुँदै शान्तिवाटिकासम्म सांस्कृतिक झाँकीसहितको कार्यक्रम गर्ने जनाएको छ।

त्यसमाथि प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्दै नेता–कार्यकर्तालाई निर्देशन दिएपछि राप्रपा सांसदले हिंसा भए प्रधानमन्त्री जिम्मेवार हुने बताएका हुन्।

सुझावित समाचार