युवा पुस्ता लागुऔषध दुर्व्यसनीको लतमा, चिन्तामा अभिभावक

मंगलबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

विद्यालय उमेर समुहका किशोरकिशोरीहरूमा लागुऔषधले भयावह रूप लिँदै गएको भन्दै अछामको मंगलसेन–९ का स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

सामाजिक विकास कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामले आयोजना गरेको लागुपदार्थ दुर्व्यसनी, मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या निरुत्साहनसम्बन्धी अन्तर्क्रियामा उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।  

गाउँ–गाउँमा लागुऔषधका प्रयोगकर्ता र यसको कारोबार बढेको र यसले समाजलाई नै झन् पछाडि लगिरहेको उनीहरूले बताएका छन्। मंगलसेन–९ स्थित मंगला नेपाल राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर रावलले लागुऔषध टोल, समाज र विद्यालय क्षेत्रमा प्रमुख चिन्ताको विषय बनेको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी र सामाजिक विकास कार्यालयका प्रमुख डम्बरबहादुर रावलसमक्ष गुनासो सुनाउँदै उनले यसको रोकथामका लागि पहल गरिदिन आग्रह गरे। ‘लागुऔषधले समाजलाई झन् पछाडि फर्काइरहेको छ, गाउँ–गाउँमा प्रयोगकर्ता र यसको कारोबार फस्टाएको छ, यो अहिले प्रमुख चिन्ताको विषय हो,’ उनले भने, ’यसको नियन्त्रणमा पहल गरिदिनुहोला।’

रावलका कुरा सुनिसकेपछि डिएसपी भण्डारीले लागुऔषध दुर्व्यसनीको बढ्दो समस्याले राष्ट्रिय सुरक्षादेखि सामाजिक संरचनासम्म गम्भीर असर पारिरहेको बताए। ‘लागुऔषध आज हाम्रो मुलुकका लागि मात्र होइन, सम्पूर्ण समाजका लागि एउटा गम्भीर चुनौती बन्दै गएको छ,’ उनले भने, ‘यसको नियन्त्रणका लागि वडास्तरसम्म प्रयास गर्न नसकेसम्म प्रभावकारी परिणाम आउन सक्दैन।’

लागुऔषध दुर्व्यसनीले परिवार विघटन, युवा शक्ति नष्ट र आपराधिक गतिविधिमा वृद्धि भइरहेको भन्दै उनले समुदायको सहयोग पाए यसलाई नियन्त्रण गर्न सम्भव रहेको बताए। ‘लागुऔषध कारोबार र दुर्व्यसनीलाई नियन्त्रण गर्न प्रहरीको तर्फबाट निरन्तर अपरेसनहरू चलाइएका छन्,’ उनले भने, ’तर, यसमा समाजकै जागरण आवश्यक छ।’

मंगला नेपाल राष्ट्रिय माविमा कक्षा ९, १० र ११ मा अध्ययनरत ५७ जना बढी छात्रछात्रा र अभिभावकसमेतको उपस्थिततिमा बालविवाह, बहुविवाह, यौन दुर्व्यवहार, घरेलु हिंसा, छाउपडी प्रथा र त्यसमा हुने कानुनी कारबाहीलगायतका विषयमा समेत प्रशिक्षण दिइएको अन्तर्क्रियामा सामाजिक विकास कार्यालयका प्रमुख डम्बरबहादुर रावलले लागुऔषध दुर्व्यसनी तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताए।

उनले भने, ‘पछिल्लो समय लागुऔषध दुर्व्यसनीमा धेरैजसो युवा पुस्ता फस्दै गएको पाइन्छ। त्यसैले, यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरू जाग्नुपर्छ।’ उनले लागुऔषध दुर्व्यसनीका कारण समाज आक्रान्त हुने खतरा बढेपछि आफूहरू सचेतीकरण गर्ने अभियानमा लागेको बताए। 

अछाममा पछिल्लोपटक मात्र सामाजिक विकास कार्यालय र प्रहरीले गरी करिब १६ वटाभन्दा बढी स्थानमा लागुऔषध दुर्व्यसनी, बालविवाह, महिला हिंसा र यौन दुर्व्यवहारको अवस्था र कानुनी कारबाहीलगायतका विषयमा विद्यार्थी, अभिभावक र सरोकारवालाहरूलाई सचेत गराउन प्रशिक्षण दिइएको छ। यो आर्थिक वर्षमा अझै केही स्थानमा यस्ता सचेतनामूलक गतिविधि गरिने सामाजिक विकास कार्यालय प्रमुख रावलले बताए। 

सुझावित समाचार