सल्यानमा घरबिमा कार्यक्रम सञ्चालन गरिएको छ। सल्यानको शारदा नगरपालिकाभित्र रहेका १० हजार घरधुरीको घर बिमा कार्यक्रम सञ्चालनमा आएको हो। सल्यानबाट कर्णाली प्रदेश सरकारले आह्वान गरेको निवेदनमा शारदा नगरपालिकाले मात्र निवदेन पेस गरेको थियो । प्राकृतिक विपतलगायतको भवितव्यबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति गर्न पालिकाभित्र स्थायी बसोबास भएको नागरिकको निजी आवासीय घरमा बिमा कार्यक्रम लागू गरिएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए।
कर्णाली प्रदेश सरकारले ल्याएको घरबिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ बमोजिम कार्यक्रम सुरु गरिएको उनको भनाइ छ। कार्यविधिअनुसार एकाघर परिवारको एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गर्ने उनले बताए।कर्णाली प्रदेश सरकारले प्रतिघर अधिकतम २० लाख बिमांकबराबरको जोखिम मूल्यांकन हुन आउने बिमा शुल्कबापतको रकम मात्र भुक्तानी गर्नेछ ।
घरबिमा कार्यक्रमअन्तर्गत भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरी, जमिन भासिएको वा धसिएका, असिनापानी, हवाई दुर्घटनालगायतका नाै प्रकारका विपतबाट क्षतिग्रत भएको घरको बिमामार्फत क्षतिपूर्तिमा दिने व्यवस्था कार्यविधिमा रहेको छ। विपतका दृष्टिले जोखिमयुक्त पालिका भएकाले नागरिकको निजी आवासीय घरको प्राकृतिक विपतबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन घरबिमा कार्यक्रम प्रभावकारी हुने शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताए।
काठ घर, पराल र ढुंगामाटोले जोडेर बनाइएका घरमा भने यो कार्यक्रम लागू हुने कार्यविधिमा उल्लेख छ ।