- मोरक्कोमा आयोजना हुने कराँते प्रिमियर लिगमा विश्वका २४ राष्ट्रका उत्कृष्ट ३२ खेलाडीले मात्र भाग लिन पाउँछन्, ६८ केजी तौलमाथिको समूहमा एरिका गुरुङले पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै छिन्
एरिका गुरुङले मोरक्कोमा आयोजना हुने कराँते वान प्रिमियर लिगमा सहभागिता जनाउँदै छिन् । कराँते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने एरिका समग्रमा पहिलो नेपाली खेलाडी हुन् । विश्व कराँते महासंघ (डब्लुकेएफ)को वरीयताका आधारमा प्रिमियर लिगमा सहभागी हुन पाउने प्रावधान छ । डब्लुकेएफले प्रतियोगितामा केवल २४ राष्ट्रका उत्कृष्ट ३२ खेलाडीलाई मात्र मौका दिएको छ । कुमुतेतर्फ ६८ केजी तौलमाथि एरिकाले प्रतिस्पर्धा गर्नेछन् । यस विधामा उनको वरीयता राम्रो छ ।
डब्लुकेएफको ६८ केजी तौलमाथिको वरीयतामा उनले ५६औँ स्थान पाएकी छिन् । मोरक्कोमा ३० मे देखि १ जुनसम्म आयोजना हने कराँते प्रिमियर लिग विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । सहभागी खेलाडीहरूले उत्कृष्ट खेलाडीविरुद्ध राम्रो नतिजा निकाल्ने प्रयास गर्नेछन् । नेपाली कराँते टोलीका मुख्यप्रशिक्षक कुशल श्रेष्ठले विश्वका उत्कृष्ट खेलाडीहरूले भाग लिने प्रतियोगितामा एरिकाको उपस्थितले इतिहास रच्ने जनाएका छन् ।
‘कराँते वान प्रिमियर लिग विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो, यसमा नेपालबाट एरिकाले सहभागिता जनाउँदै छन्,’ मोरक्कोमा प्रस्थान गर्नुअघि श्रेष्ठले भनेका छन्, ‘विश्वकै शीर्ष कराँते खेलाडीले भाग लिने प्रतियोगितामा नेपाल पनि हुनु ऐतिहासिक हो ।’ मुख्य प्रशिक्षक श्रेष्ठले एरिका नेपालबाट छनोट हुने एक मात्र भाग्यमानी समेत बनेको बताए । उज्वेकिस्तानमा यसै साता भएको एसियन कराँते च्याम्पियनसिपमा पदकविहिन भएकी एरिकाले कराँते वान प्रिमियर लिगमा उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा छ ।
यसअघि सहभागी भएका अन्तर्राष्ट्रिय कराँतेमा पदकविहीन नभएकी एरिकाले उज्वेकिस्तानमा पहिलोपटक मुलुकलाई कुनै पनि उपाधि दिलाउन सकिनन् । मोरक्कोको रातवमा हुने कराँते वान प्रिमियर लिगमा ६८ केजीमाथि समूहमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास उनको छ । नेपालको कराँते इतिहासमा एरिका अहिलेसम्मकै सफल खेलाडीमा पर्छिन् ।
२०२२ मा चीनको हाङझावमा भएको १९औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत कराँतेमा उनले मुलुकलाई रजतपदक दिलाएकी थिइन् । एसियन खेलको इतिहासमा व्यक्तिगत विधामा रजत जित्ने उनी दोस्रो खेलाडी हुन् । सन् १९९८ को एसियन खेलमा सविता राजभण्डारीले तेक्वान्दोमा रजत जितेकी थिइन् । एरिकाले कराँते वान युथ लिगमा रजत पदक जितेकी थिइन् ।
यू–२१ को वरीयतामा २२औँ स्थान
एरिका सिनियरतर्फको वरीतया ५० स्थानभन्दामाथि छिन् । तर, उमेर समूहको वरीयतामा भने उनको स्थान राम्रो छ । डब्लुकेएफले जारी गरेको यू–२१ उमेर समूहको वरीयतामा उनी २२औँ स्थानमा छिन् । अहिलेसम्म सिनियर र उमेर समूहको डब्लुकेएफको वरीयतामा यो स्थान प्राप्त गर्ने एरिका एक मात्र पहिलो खेलाडी हुन् । ६८ केजीमाथिको वरीयतामा उनले ६ सय ३० अंक बटुलेकी छिन् । उनले योकोमा ९४ प्रतिशत जित निकालेकी छिन् ।
पछिल्लो तीन इभेन्टमा उनले सात जित र तीन खेलमा हारको सामना गरेकी छिन् । पछिल्ला इभेन्टमा उनको जित प्रतिसत ७० रहेको छ । अहिलेसम्म यस समूहमा उनले ३५ खेलमा जित र २१ खेलमा हार सामना गरेको डब्लुकेएफले जनाएको छ । यसैगरी, उनले यू–२१ उमेर समूहको विश्व वरीयतामा २२औँ स्थान रक्षा गर्न ६ सय अंक बटुलेकी छिन् । यस विधामा उनले १८ जित र १२ हारको सामना गरेकी छिन् ।
उत्कृष्ट खेलाडीले मात्र भाग लिने
विश्व कराँते महासंघले कराँते प्रिमियर लिगलाई सबैभन्दा महŒवपूर्ण र प्रतिष्ठित च्याम्पियनसिपको रूपमा राखेको छ । डब्लुकेएफले विश्वभरि छरिएका उत्कृष्ट कराँते खेलाडीहरूलाई एउटै रिङमा प्रतिस्पर्धा गराउने उद्देश्यका साथ यो लिग सुरु गरेको हो ।
‘कराँते प्रिमियम लिगमा केवल विश्वकै उत्कृष्ट खेलाडीले मात्र भाग लिन पाउँछन्,’ डब्लुकेएफले जनाएको छ, ‘यसमा उत्कृष्ट खेलाडीहरूको क्षमता थाहा पाउने मौका सबैले पाउनेछन् ।’ डब्लुकेएफले प्रिमियर लिगलाई ‘उत्कृष्टमध्ये उत्कृष्ट’ नाम दिइएको छ ।
व्यक्तिगत विधामा सहभागी खेलाडीले रिङमा आफूलाई उत्कृष्ट खेलाडीबिच सर्वोकृष्ट बन्ने प्रयास गर्नेछन् । जसका कारण प्रतियोगिताले थप एउटा उचाइ लिने डब्लुकेएफको भनाइ छ । ‘यहाँ विभिन्न मुलुकबाट सहभागी भएका ३१ राष्ट्रका आ–आफ्नो समूहका उत्कृष्ट खेलाडी भाग लिने गर्छन, जसको विजेतालाई ग्रान्ड विनरको उपाधि दिइनेछ,’ डब्लुकेएफले उल्लेख गरेको छ । यो प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो । यसै वर्ष डब्लुकेएफले पहिलोपटकको आयोजक राष्ट्रका रूपमा फ्रान्सलाई छनोट गरेको थियो ।