नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले चन्दा माग्दा जनताले हेप्न थालेपछि उत्पादनमा जोडिएको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सोमबार भएको स्वागत तथा सम्मान कार्यक्रममा उनले पार्टीलाई आत्मनिर्भर मात्रै नभई राजनीतिक दललाई उत्पादनमा जोड्नुपर्ने कुराको सन्देश दिन यस्तो कार्य गरेको बताए।
उनले दुई वर्षमा उल्लेख्य रूपमा उत्पादनमा प्रगति गर्न सफल भएकोसमेत बताए। ‘चन्दा माग्दा–माग्दा जनताले पनि हेप्न थाले, जनताको करमा सरकार सञ्चालन गर्नेहरूले कर नै खान थाले, बाहिर रहेका हामीहरूले चन्दा माग्न थाल्यौँ,’ उनले भने, ‘यसले गर्दा जनता आजित भए, त्यसैले हामी आत्मनिर्भर बन्नुपर्छ भनेर उत्पादनमा जोडियौँ ।’
अहिले काठमाडौंमा व्यापार केन्द्रसमेत सञ्चालन गरेको भन्दै आफूहरू फाइदामै रहेको बताए । पार्टी अब विगतजस्तो परनिर्भर नभएकोसमेत उनको भनाइ थियो। त्यति मात्रै होइन, नेपालका उद्योगपति विनोद चौधरीको कम्पनीलाई आलु उत्पादन गरेर धेरै आलु उपलब्ध गराउने ठुलो इकाइ भएकोसमेत बताए ।
नेपालमा उत्पादनको संस्कार आवश्यक रहेकोसमेत उनले बताए ।
उनले राजनीतिलाई अर्थतन्त्रसँग जोड्नुपर्नेसमेत बताए । साथै उनले नेपालका कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने कुरामा आफूहरू लागिरहेको जानकारी दिए ।