उदयपुरमा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस तीन दिन मनाइने भएको छ । गणतन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिले १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी मनाउने भएको हो ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार तीन दिन जिल्लामा रहेका सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूका छत, बरन्डापरिसरमा राष्ट्रिय झन्डा मर्यादापूर्वक सजाउने, दीपावली गर्ने, सरसफाइ गरेर मनाउन अनुरोध गरिएको जानकारी दिए ।
गणतन्त्र दिवसको अवसरमा राधाकृष्ण मन्दिरको सरसफाइ, जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण, विभिन्न प्रकारका खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी लुइँटेलको भनाइ छ ।