विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाटभिया र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका– ३ घर भएका ५८ वर्षीय सन्तकुमार चेम्जोङ र काठमाडौं बुढानीलकण्ठ नगरपालिका– ५ बस्ने बारा कोल्हवी नगरपालिका– २ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन्।

सन्त कुमारले लाटभिया पठाइदिन्छु भन्दै एकजनाबाट १२ लाख रुपैयाँ र विष्णुराजले युएई पठाइदिन्छु भन्दै एकजनाबाट पाँच लाख ७३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। सन्त कुमार काठमाडौं– ११ बाट आइतबार र विष्णुराज शुक्रबार पक्राउ परेका हुन्।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार