नेकपा एमाले उदयपुरले जिल्लाको २५ वर्षे समृद्धिका लागि एकीकृत विकास योजना निर्माण गरेको छ । उदयपुरलाई एउटा नयाँ विकासको मोडालिटीमा लैजाने लक्ष्यका साथ २५ वर्षे समृद्धिको एकीकृत विकास योजना निर्माण गरेको हो ।
हिजो आइतबार एमाले उदयपुरले आगामी २५ वर्षका लागि ‘विकास र समृद्धिको योजना चित्र निर्माण कार्यशाला–२०८२’ सम्पन्न गर्दै २५ वर्षे समृद्धिका लागि एकीकृत विकास योजना निर्माण गरेको घोषणा गरेको हो । एमाले कोशी प्रदेशको निर्देशनअनुसार प्रदेशका १४ जिल्लामा २५ वर्षे समृद्धिको एकीकृत विकास योजना निर्माण सुरु गरिरहेको छ । जसमा उदयपुरमा निर्माण भएको एमाले उदयपुरले जनाएको छ ।
उदयपुरको आगामी २५ वर्षे समृद्धि योजना निर्माण समितिका संयोजक बेलका नगरपालिकाका पूर्वनगरप्रमुख दुर्गाकुमार थापा (स्वस्तिक) ले पूर्वाधारमा सडक, पुल तथा झोलुङेपुल, जल यातायात, रेलमार्ग, पोडवे, केबलकार, भवन सिँचाइ तथा नदी नियन्त्रण, ऊर्जा विकास छन् । यसैगरी आर्थिक विकासमा कृषि तथा पशुपालन, उद्यम विकास, सहकारी, रोजगारी, सीप विकास, पर्यटन, उद्योग तथा वाणिज्य छन् । यता सामाजिक विकासमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, महिला बालबालिका, अपांगता तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद छन् । वन तथा वातावरणका क्षेत्र तथा सुशासनका योजनाहरू छन् । उनले भने, ‘जिल्लामा आवश्यकता रहेका सबै योजनाको नामसहितको खाका तयार पारेका छौँ ।’
उक्त एमालेको २५ वर्षे समृद्धिको एकीकृत विकास योजना २०८२ देखि २१०७ भित्र पूरा गर्ने गरी निर्माण गरिएको एमाले उदयपुरका अध्यक्ष भावत राउतले जानकारी दिए । अध्यक्ष राउतका अनुसार जिल्लाका ७५ वटै वडामा सञ्चालित आयोजना र सुरु गर्नुपर्ने आयोजनाबारे हालको अवस्था, पाँच वर्षपछि, १५ वर्षपछि र २५ वर्षमा हुनुपर्ने के हो भनेर ठोस रूपमा निर्माण गरिएको छ । उनले भने, ‘उक्त एकीकृत विकास योजनामा जिल्लाका पाँच ठाउँमा केबलकार र पोडवे २५ वर्षभित्र पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ । यता रौतामाई गाउँपालिका–चित्रेथान, त्रियुगा नगरपालिका– १५ को खाँबु बतासे र त्रियुगा नगरपालिका– १६ को आहाले डाँडामा हावाबाट बिजुली उत्पादन गर्ने लक्ष्य पनि लिएका छौँ ।’
एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीको दसाैँ महाधिवेशनले तय गरेको बहुदलीय जनताको जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने गरी कोशी प्रदेशका जिल्लामा २५ वर्षे समृद्धिको एकीकृत विकास योजना निर्माण भइरहेको जानकारी दिए । एमाले कोशी प्रदेशका अनुसार हालसम्म उदयपुर र मोरङले २५ वर्षे योजना सार्वजनिक गरेका छन् भने अन्य १२ जिल्लामा तयारी भइरहेको छ ।