बाँके राष्ट्रिय निकुञ्जमा पर्या–पर्यटन प्रवर्द्धन गर्न माग

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पर्या–पर्यटनको विकास हुन थालेको छ । पाटेबाघलगायत वन्यजन्तु संरक्षणमा सफलता हासिल गरे पनि निकुञ्ज घुम्न आउने पर्यटकको संख्या कम नै रहेको छ । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म करिब सात सय पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरेका छन् ।

गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी जम्मा सात सयको हाराहारीमा निकुञ्जभित्र प्रवेश गरेर अवलोकन गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । ‘निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोजलगायतका क्रियाकलापमा ५० हजारभन्दा बढी पर्यटक आउने गरे पनि वन्यजन्तुको वासस्थान क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्या सात सयको हाराहारीमा रहेको छ,’ उनले भने, ‘सबै पर्यटक निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरवास (होमस्टे) मार्फत निकुञ्जभित्र अवलोकन गरेका हुन् ।’

निकुञ्जले बाघ संरक्षणमा सफलता हासिल गरे पनि पर्या–पर्यटनको विकास हुन नसकेको उनको भनाइ छ । मध्यवर्ती क्षेत्रमा घुम्न आउने पर्यटकलाई निकुञ्ज अवलोकनमा ल्याउन सक्ने व्यवस्था होमस्टे तथा होटेल व्यवसायीले गर्नुपर्नेमा उनले जोड दिए । निकुञ्जमा गत आर्थिक वर्ष ०८०/८१ मा ४४४ पर्यटकले अवलोकन गरेका थिए । पर्यटक घुमाउनका लागि होमस्टे तथा होटेल व्यवसायीले प्रशस्त मात्रामा सफारी गाडीको व्यवस्था गर्नसके निकुञ्ज घुम्ने पर्यटकको संख्या बढ्ने निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए ।

उनका अनुसार बाँके निकुञ्जमा अहिले वन्यजन्तुको संख्यामा वृद्धि हुनुका साथै बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन् २०२२ को सर्वेक्षणअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वयस्क बाघ रहेका छन् । यस्तै, स्तनधारी वन्यजन्तु ३४, चरा २७६, सरिसृप २४, उभयचर नौ र माछा ५५ गरी ४२२ प्रजाति रहेका छन् ।

०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज् विमानस्थलबाट १५ किलोमिटर दूरीमा रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । निकुञ्जमा वन्यजन्तुसँगै प्राकृतिक दृश्य हेर्न पर्यटकको संख्या बढ्दै गए पनि सन्तोषजनक अवस्था नरहेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँगाउँ होमस्टे सञ्चालित छन्।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बर्सेनि बढ्दै गए पनि बाँकेमा भने सुनसान अवस्था रहेको पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए। उनले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन नागरिकस्तरबाट आफूहरू लागिपरेको उल्लेख गरे ।

सुझावित समाचार