भन्सार प्रमुखमाथि कुटपिट घटनामा चारजना नगर प्रहरी पक्राउ

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

कैलाली भन्सार कार्यालयका प्रमुख प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट घटनामा प्रहरीले धनगढी उपमहानगरपालिकाका चारजना नगर प्रहरीलाई पक्राउ गरेको छ । 

नगर प्रहरी प्रमुख नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, सवारीचालक रतनबहादुर मल्ल, नगर प्रहरी हवल्दार मणिदत्त भट्ट र नगर प्रहरी जवान जितेन्द्रसिंह धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कुटपिटमा संलग्न चारजना नगर प्रहरीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको बताएका छन् । प्रहरीका अनुसार धामीलाई कञ्चनपुरबाट र अन्य तीनजनालाई धनगढीबाट पक्राउ गरिएको हो । भन्सार प्रमुख तिम्सिनाले आफूमाथि कुटपिट गरेको भन्दै नगर प्रहरी प्रमुख धामीविरुद्ध आइतबार प्रहरीमा किटानी जाहेरी दिएका थिए । 

धामीसहितको टोलीले शनिबार राति भन्सार कार्यालय परिसरमा भन्सार कार्यालय प्रमुख तिम्सिनालाई कुटपिट गरेका थिए । भन्सार कार्यालयबाहिर ब्यारियलमा नगर प्रहरी र भन्सार प्रमुखबिच विवाद भएको थियो । कार्यालय परिसरमा तिम्सिनामाथि कुटपिट भएको सिसिटिभीको भिडियो सार्वजनिक भएको छ ।

कुटपिटमा संलग्न नगर प्रहरी निरीक्षक धामीलाई धनगढी उपमहानगरले पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ । उपमहानगरले धामीलाई क्षेत्राधिकारबाहिर गएर अनधिकृत काम गरेको भन्दै आइतबार नै स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र जवाफ दिन भनेको छ ।

शनिबार राति एउटा स्कार्पियोले धनगढी–अत्तरिया ६ लेन सडकको मिडियनमा लगाएको वाल भत्काएको सूचनापछि नगर प्रहरी प्रमुख धामीको टोली उक्त गाडीको खोजीका लागि भन्सारको बेरियलसम्म पुगेको थियो । सो क्रममा भन्सार प्रमुख तिम्सिना र नगर प्रहरी प्रमुख धामीबिच विवाद भएको हो ।

सुझावित समाचार