कूटनीतिक सम्बन्ध सुधार गर्न भारत–क्यानडा सहमत

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले आफ्ना क्यानाडाली समकक्षीसँग कुरा गरेको र दुवै पक्षले सम्बन्ध सहज बनाउन खोजिरहेको बताएका छन्।

आइतबार राति भएको टेलिफोन वार्ता मार्चमा मार्क कार्नी क्यानडाका प्रधानमन्त्री बनेपछि ओटावा र नयाँदिल्लीबिचको सबैभन्दा उच्च कूटनीतिक सम्पर्क हो।

सन् २०२३ मा क्यानाडाली शिखको हत्यामा नयाँदिल्लीको संलग्नता रहेको आरोप लागेपछि क्यानडा र भारतबिचको सम्बन्ध तनावपूर्ण बनेको थियो। उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो।

विदेशमन्त्री जयशंकरले नवनियुक्त विदेशमन्त्री अनिता आनन्दसँग ‘भारत–क्यानडा सम्बन्धका सम्भावनाहरूबारे छलफल गरेको’ र ‘उनको कार्यकाल सफल हुने कामना गरेको’ बताए।

आनन्दले एक्समा उनि ‘क्यानडा–भारत सम्बन्धलाई बलियो बनाउन, हाम्रो आर्थिक सहयोगलाई गहिरो बनाउन र साझा प्राथमिकताहरूलाई अगाडि बढाउन’ इच्छुक रहेको बताए। आनन्दका अभिभावकहरू भारतका थिए।

क्यानडा भारतबाहिरको सबैभन्दा ठुलो शिख समुदायको घर हो र यसमा ‘खालिस्तान’का कार्यकर्ताहरू छन्। खालिस्तान धार्मिक अल्पसंख्यकका लागि भारतीय क्षेत्रबाट काटेर स्वतन्त्र राज्य खोज्ने सीमान्तकृत पृथकतावादी आन्दोलन हो।

ओटावाले यसअघि भारतलाई सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीपसिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित अन्य शिख कार्यकर्ताहरूलाई लक्षित गरेको आरोप लगाएको थियो। निज्जर एक प्रमुख खालिस्तान अभियानकर्ता थिए।

भारतले यी आरोपहरूलाई बारम्बार खारेज गरेको छ। उक्त आरोपछि दुवै मुलुकबिचको कूटनीतिक सम्बन्धलाई गहिरो संकटमा पारेको थियो र गत वर्ष दुवै मुलुकले शीर्ष कूटनीतिज्ञहरूको शृंखलालाई निष्कासन गरेका थिए।

सुझावित समाचार